© २०२३
बुटवल, ३ बैशाख । बुटवलमा जारी यू–१४ टि ट्वान्टी क्रिकेट प्रतियोगिताको १३ दिनको २५ औ म्याचमा रुपन्देही क्रिकेट एकेडेमी विजयी भएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट्रन क्रिकेट क्लब बुटवलको आयोजना बुधबार भएको खेलमा रुपन्देहीले ईलिट जेआरलाई ४९ रनले पराजित गरेको हो । नरैनापुर क्रिकेट मैदानमा भएको खेलमा रुपन्देही टिमले टस जितेर ब्याटिङ रोज्दै १६.४ ओभरमा सबै बिकेट गुमाएर ९१ रनको लक्ष्य खडा गरेको थियो । रुपन्देहीका सोयब हसनले नटआउट २९ बलमा २८ रन, भानुभक्त पाण्डेले १० बलमा ११ रनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन ।
ईलिट जेआरका सुप्रिम कंडेल र स्र्पश आचार्यले समान ३–३ तथा कृष्ण पन्थीले २ बिकेट लिए । झिनो लक्ष्य पछ्याएको जेआर ११.१ ओभरमा केवल ४२ रनमा समेटियो । जेआरका कुनै पनि ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन । रुपन्देहीको जितमा सत्याम हरिजनले ३ तथा सोयब हसन मुसलमान र सरिक अलिले समान २–२ बिकेट लिए । । खेलमा रुपन्देहीका सोयब हसन मुसलमान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
बुधबार नै भएको दोस्रो खेलमा देवदह क्रिकेट युनिटले एसएसएनलाई ८ बिकेटले पराजित गरेको छ । एसएसएनले टस जितेर १६.२ ओभरमा सबै बिकेट गुमाएर ४७ रनको लक्ष्य खडा गरेको थियो । झिनो लक्ष्यलाई देवदहले ६.१ ओभरमा २ बिकेटको नोक्सानीमा भेटायो । खेलमा ३ बिकेट लिदै ८ रनको अटआउट खेलेका देवदहका रोहन कुवर प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
यसैबिच मंगलबार भएको दोस्रो खेलमा गार्गी एकेडेमी विजयी भएको छ । गार्गीले विश्व स्कुललाई ३ बिकेटले पराजित गरेको हो । खेलमा टस जितेर विश्वले १८.२ ओभरमा सबै बिकेट गुमाएर केवल ९१ रनको लक्ष्य खडा गरेको थियो । यसका लागि एन्जी पाठकले ३८ बलमा ३० तथा समर पाण्डेले २० बलमा १६ रनको योगदान दिएका थिए । कम स्कोरमा रोक्न गार्गीका अनमोल पुन र शिशिर पाण्डेले समान ३–३ तथा हार्दिक शाहीले २ बिकेट लिए । गार्गीले १७.१ ओभरमा ७ बिकेटको नोक्सानीमा लक्ष्य भेटायो । यसका लागि समुन्द्र गैरेले ३३ बलमा ३०, स्पन्दन गैरेले ५ बलमा १७ तथा सम्राट गैरेले १० बलमा ११ रनको योगदान दिए । विश्वका एन्जी पाठकले ३ तथा कस्मिक थापाले २ बिकेट लिए । खेलमा गार्गीका अनमोल पुन प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
युवा खेलाडीहरुलाई प्लेटफर्म दिने गरि १४ वर्ष मुनिका खेलाडीहरुको १२ वटा टिमलाई दुई समुह विभाजन गरी राउण्ड रोविनका आधारमा खेलाएर समूहको शिर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष भुवन पाण्डेले बताए । प्रतियोगितामा विजेता टिमले नगद ४१ हजार ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टिमले २१ हजार नगद राशी प्राप्त गर्ने उनले बताए । यसैगरी विधागत तर्फ उत्कृष्ट व्याट्सम्यानलाई २ हजार ५ सय, सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार नगद राशीले सम्मान गरिने उनले बताए ।