Butwal Today

निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए

३० चैत्र २०८१, शनिबार
अ+
अ-

गुल्मी, ३० चैत ।
गुल्मीको इस्मा गाउँपालिका –६ अमरपुरमा बिशेषज्ञ डाक्टरहरू सहित सञ्चालन गरिएको बृहत निःशुल्क स्वास्थ्य शिविरबाट आठ सय भन्दा बढी बिरामीहरूले सेवा लिएका छन । संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव कुलचन्द्र गौतमको परिवारद्वारा स्थापना गरिएको हिमा स्मृति कोषको आयोजनामा इस्माको अमरपुर स्वास्थ्य चौकीमा बिहीबार र शुक्रबार गरी दुइ दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शुक्रबार सम्पन्न शिविरमा हाडजोर्नी, मुटु, मृगौला र स्त्रीरोग सम्बन्धी स्वास्थ्य परिक्षण गर्नुका साथै बिरामीहरूलाई आवश्यक औषधी समेत निःशुल्क उपलब्ध गराइएको थियो । घरबाट लौरो टेकेर शिविर स्थलसम्म स्वास्थ्यजाँच गर्न पुगेकी ईस्मा अमरपुरकी ७९ वर्षीय तारा अर्यालले आफूले गाउँमै बसेर पनि यति ठूलो सेवा लिन पाएकोमा आफै दङ्ग परेको सुनाईन ।

उपचारका लागि शहरका अस्पतालसम्म पुग्न नसक्ने गरीब, अशक्त, अपाङ्ग, महिला तथा बृद्धबृद्धाहरूलाई लक्षित गरेर गाउँमै सेवा दिनका लागि स्वास्थ्य शिविर सञ्चालन गरिएको संयुक्त राष्ट्रसंघका पूर्व सहायक महासचिव एवं हिमा गौतम स्मृति कोषका संस्थापक कुलचन्द्र गौतमले बताए । गौतमले आफू त्यही गाउँमा जन्मेको, हुर्केबढेको र गाउँप्रति धेरै माया भएको भन्दै आफ्नो जीवनमा जेजति सफलता हासिल भयो त्यसको ठूलो श्रेय त्यही गाउँको आर्शिबाद भएको बताए ।
गौतम परिवारले बुबा ओमप्रसाद गौतमको नामबाट शिक्षा र आमा हिमा गौतमको नामबाट स्वास्थ्य क्षेत्रमा गाउँमा उदाहरणीय काम गर्दै आएका छन् । हिमा गौतम स्मृति कोषका अध्यक्ष नारायण पराजुलीले लामो समयदेखि गाउँको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्दै आएकोले यसपटक पनि स्वास्थ्य शिविरलाई निरन्तरता दिएको बताए ।

शिविरमा डा.प्रकाश पौडेलको संयोजनमा मेडिसिटी अस्पतालका बरिष्ठ मिर्गौला रोग बिशेषज्ञ डा.ऋषीकुमार काफ्ले, डा.प्रकाश पौडेल, डा. समीरचन्द्र गौतम, काठमाडौं मेडिकल कलेजमा कार्यरत बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. प्रतिज्ञा गौतम, रूपा झा तथा हाडजोर्नी बिशेषज्ञ र मेडिकल अधिकृतहरू सहितको टोलीले बिरामीहरूलाई सेवा प्रदान गरेका थिए ।
गौतम परिवारले आफ्ना स्वर्गीय बुबा र आमाको नामबाट बिद्यार्थीलाई शैक्षिक सामग्री, पुरस्कार, विद्यालयमा संरचना निर्माण, दिवाखाजा लगायतका कार्यक्रममा सहयोग गर्दै आएको छ । त्यसका अतिरिक्त गौतम परिवारबाट अमरपुरको स्वास्थ्यचौकी निर्माणका लागि निःशुल्क रूपमा जग्गा प्रदान गर्नुका साथै शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र सामाजिक विकासको क्षेत्रमा उल्लेख्य काम गरेको स्थानीय समाजसेवी हिरा एसीले बताए । गौतम परिवारद्वारा चैत २८ र २९ गते इस्माको अमरपुरमा सञ्चालन गरिएको चौथो स्वास्थय शिविर हो । शिविर सञ्चालनमा यस पटक इस्मा गाउँपालिकाले समेत सहयोग गरेकोे गौतमले बताए । गाउँमै पनि निःशुल्क रूपमा यति ठूलो शिविर सञ्चालन भएको भन्दै स्थानीहरूद्वारा आयोजक प्रति प्रशंसा व्यक्त गरेका छन ।