Butwal Today

लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

२९ चैत्र २०८१, शुक्रबार
अ+
अ-
दाङ  ।
लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को फाईनलमा वर्षा बाधक बन्दा दाङ र रुपन्देही संयुक्त विजेता भएका छन् ।
बिहीबार राति परेको पानीले पिच र आउटफिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देही संयुक्त विजेता बनेका हुन् । लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग एवम् व्यवस्थापनमा दाङमा गरिएको  प्रतियोगिताको उपाधिका लागि दुई टीमबीच लमही-५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । तर, राति हावाहुरीसहितको पानी परेपछि खेल सम्भव हुन सकेन । बिहान घोराही-१७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा फाईनल खेल गर्ने गरि पिच तयारी गर्ने प्रयास भएपनि फेरि पानी परेपछि अन्ततः दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
संयुक्त विजेता बनेका दाङ र रुपन्देहीले ७५-७५ हजार रुपैयाँसहित शील्ड, मेडल र प्रमाण-पत्र प्राप्त गरेका छन् ।
दाङ र रुपन्देहीको पुरुष क्रिकेटमा रुपन्देही हावी हुने गरेको छ । तर, यो पटक फाईनलमा रुपन्देहीलाई हराउँदै उपाधि उचाल्ने र ईतिहास बनाउने मौका दाङलाई थियो । महिला क्रिकेटमा दाङले रुपन्देही टीमलाई पराजित गर्दै आएपनि पुरुष क्रिकेटमा अहिलेसम्म खेलेका दर्जनौं खेलमा रुपन्देही बाधक बन्दै आएको छ । यो पटकको संयुक्त विजेता बन्दै दाङले ट्रफी साझेदारी गरेको छ ।
दाङमा आयोजित लुम्बिनी प्रदेश स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले पराजित गर्दै प्रवेश गरेका थिए । चैत २५ गतेदेखि शुरु भएको  प्रतियोगिताको प्लेयर अफ द सिरिज  दाङका तुलबहादुर थापा  भए  । चाईनाम्यान बलरसमेत रहेका उनले नगद १० हजारसहित ट्रफी पाए । यसैगरी, प्रतियोगिताको बेस्ट बलरका रुपमा गुल्मीका  रामचन्द्र टण्डन हुँदा
बेस्ट ब्याट्समान दाङका तुलबहादुर थापा भए । दुवैले जनही ५ हजारसहित ट्रफी हात पारे । प्रतियोगिता समापन तथा पुरस्कार वितरण  समारोहमा खेलाडीलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले खेलाडीलाई पुरस्कृत गरे ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोहमा प्रमुख अतिथिसमेत रहेका मन्त्री सारुले मानिस स्वस्थ रहन खेलकुद जरुरी रहेको बताए ।
खेलकुदका लागि पूर्वाधार विकाससँगै प्रतियोगिता बढाउन प्रदेश सरकारले विशेष ध्यान दिनुपर्ने भन्दै खेलकुदका विकासका लागि आगामि आर्थिक वर्षमा आवश्यक बजेट विनियोजनमा पहल गर्ने प्रतिवद्धता जनाए । उनले खेलका माध्यमबाट खेलाडीले खेल अनुशासन देखाउँदै प्रतियोगितामा सहभागी भएर उत्कृष्टता प्रदर्शन गरेको भन्दै प्रशंसा समेत गरे ।
 नेपालले क्रिकेटका माध्यमबाट विश्वकप खेलीसकेको हुँदा खेललाई स्वास्थ्यसँगै व्यावसायिक रुपमा विकास गर्न सबैले ध्यान दिन आवश्यक रहेको बताए ।
दाङमा पछिल्लो समय क्रिकेट प्रतियोगिताका लागि पर्याप्त क्रिकेट पूर्वाधार र प्राविधिक जनशक्ति उपलब्ध रहेको हुँदा सहज भएको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष  तथा केन्द्रीय सदस्य प्रदीप मजगैयाले बताए ।
प्रदेश खेलकुद परिषदले क्रिकेटको विकासका लागि आयोजना गरेको प्रतियोगिताले विभिन्न जिल्लाबाट नयाँ खेलाडी उजागर गर्न सहयोग पुगेको बताए।
समापन समारोहको सहजीकरण लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य तथा प्रतियोगिता संयोजक कैलाश रोका मगरले गरेका थिए । प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रुकुम पूर्व बाहेक लुम्बिनीका ११ जिल्लाको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?