© २०२३
काठमाडौं,२८ चैत ।
शिक्षा ऐन संशोधनको माग गर्दै आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघलाई वार्ताका लागि बोलाएको हो। मन्त्रालयका एक अधिकारीले अहिलेसम्म साँझ ५ बजेको समय तय भएको जानकारी दिँदै, “शिक्षकहरू आउनु भएन वा केही कारणले सर्यो भने भन्न सकिन्न,” भने।
यसअघि मन्त्रालयले पटक–पटक वार्ताका लागि आह्वान गर्दा पनि महासंघ वार्तामा नजाने अडानमा रहँदै आएको थियो। तर, यसपटक महासंघले वार्तामा सहभागी हुने बताएको छ।
महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षा विधेयकसम्बन्धी छलफलमा सहभागी हुने जनाउँदै, “मन्त्रालयले बोलाएको छ, हामी जाने भनेका छौं,” भनिन्। उनका अनुसार, महासंघका आन्दोलन कार्यक्रम दिउँसो ३ बजेसम्म चल्ने भएकाले त्यसपछि मात्र वार्तामा सहभागिता जनाइनेछ।
महासंघले ऐन जारी गर्न संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन अगाडि सार्ने वा अध्यादेशमार्फत ऐन जारी गर्ने गरी तीन विकल्प अघि सारेको छ। महासंघको वार्ता टोलीको संयोजकत्व पराजुलीले नै सम्हाल्नेछ।
सङ्घर्षका कार्यक्रमअन्तर्गत आज पनि शिक्षकहरू माइतीघरदेखि बिजुलीबजार पुलसम्मको मुख्य सडकमा प्रदर्शनमा उत्रिएका छन्। आज प्रदर्शनको स्वरूप अझ तीव्र बनेको देखिएको छ।
तीनवटै सडक लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरी र आन्दोलनरत शिक्षकहरूबीच धकेलाधकेलको अवस्था समेत देखिएको छ। आन्दोलन अझ उग्र बन्दै गएको सन्दर्भमा आजको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ।