Butwal Today

अचानकको मौसमीय विपद्: चट्याङले एक किशोरीको ज्यान लियो

२८ चैत्र २०८१, बिहीबार
अ+
अ-

 बुटवल ।

 बुधबार राति लुम्बिनी प्रदेशभरि परेको अविरल वर्षा, चट्याङ र तीव्र हावाहुरीले जनधनमा ठुलो क्षति पुर्‍याएको छ। मौसमको यो अचानक उग्र रूपले रोल्पादेखि बाँके, पाल्पा, अर्घाखाँची र बर्दियासम्म असर पुर्‍याएको हो।

रोल्पा नगरपालिका–१० कुटिबाङकी १५ वर्षीया एक किशोरीको चट्याङ लागेर मृत्यु भएको पुष्टि लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी दानबहादुर कार्कीले गरेका छन्। किशोरी रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्न गएकी थिइन्।

यसैबीच, बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवन र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छाना उडाएको छ। यी संरचनामा तत्काल बस्न नसकिने अवस्था रहेको प्रहरी प्रमुख कार्कीले जनाएका छन्।

गंगादेव गाउँपालिका (रोल्पा) र पाणिनि गाउँपालिका (अर्घाखाँची) मा पनि हावाहुरीले क्षति पुर्‍याएको छ भने बाँकेको सुर्खेत रोडमा सडकको बीचमा रोपिएका रुख र बिरुवाहरू ढलेर यातायातमा अवरोध पुर्‍याएको छ।

बर्दियाको मधुवन नगरपालिका–१ मा चट्याङ लागेर एक फुसको घर जलेको छ। घर शंकर रावलको रहेको बताइएको छ।यस्तै, पाल्पाको तानसेन नगरपालिका–६ मा सञ्चालित एक महोत्सवका स्टलहरू समेत हावाहुरीले भत्काइदिएको छ। प्रहरीका अनुसार प्रदेशका १२ वटै जिल्लामा हावाहुरी, चट्याङ र वर्षाले पुर्‍याएको क्षतिको विवरण संकलन कार्य जारी छ।