© २०२३
सुर्खेत, २६ चैत ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले देशलाई पछाडि लैजाने खोजेको प्रयास कदापि पूरा नहुने बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेद्वारा आयोजित वृहत जागरण सभालाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । राजावादीहरूले वर्तमानमा रोजेको बोटोले देशलाई विनाशतर्फ धकेल्ने उनले उल्लेख गरे ।
२०८४ सम्म कांग्रेस–एमालेको गठबन्धनले देशलाई अहिलेको अवस्थाबाट बाहिर निकाली लोकतन्त्रलाई लयमा फर्काएर स्थायित्व कायम गराउन खोजेको पोखरेलको भनाई थियो । पछिल्लो समय प्रतिगामी शक्तिहरुले जनतामा भ्रम सिर्जना गरिरहेको उनले बताए । ‘देशको प्रतिगामी शक्तिलाई धूप हालेर धपाउनुपर्ने छ,’ उनले भने, ‘गणतन्त्रका पक्षमा प्रतिगामी पक्षलाई खबरदारी गर्नु पर्ने छ ।’
महासचिव पोखरेलले राजतन्त्रलाई सत्कर्म नगरेर मरेको प्रेतको संज्ञा दिए । ‘हाम्रो गाउँघरमा एउटा भनाइ छ, मान्छे सत्कर्म गरेको रहेनछ भने प्रेत बन्छ । सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ’ उनले भने ।
‘राजतन्त्र जसलाई जनताको आन्दोलनबाट हामीले सधैँका लागि बिदा गरेका थियौँ । त्यसले सत्कर्म गरेको रहेनछ, त्यो आज प्रमाणित भएको छ । त्यही प्रेत अहिले जनतालाई दुःख दिन लागि परेको छ ।’
गणतन्त्र आएपछि विकास गाउँ पस्दै गएको उनले उल्लेख गरे । ‘हो, हाम्रो देश जति अघि बढ्नु पर्ने थियो, त्यसअनुसार अघि बढ्न सकेको छैन । तर, राजा र मण्डलेहरूले देशलाई जति तल पार्न खोजेका थिए, त्यसको अन्त्य गणतन्त्रले सुरु गरेको हो ।
पृथ्वीनारायण शाहले देशको एकीकरण गरेर राम्रो काम गरेता पनि यिनका नालायक सन्तानलाई जनताले स्वीकार नगर्ने बताए । पोखरेलले सोसल मिडिया अराजकतावादीहरुको कब्जामा रहेको उल्लेख गरे ।