© 2026
बुटवल, २५ चैत । स्वर्ण वर्ष प्रवेशको अवसरमा भूपु सैनिक जबई स्पोर्टिङ्ग क्लबले आयोजना गरेको आठौ भुपु सैनिक कप नकआउट फुटबल प्रतियोगिता २०८१/२०८२ मा सिम्रिक युवा क्लबले शानदार विजयी शुरुवात गरेको छ । भुपु सैनिक सालघारी समाजको संरक्षकत्व तथा भुपु सैनिक जबई स्पोर्टिङ क्लबको आयोजनामा सोमबार भएको उद्घाटन खेलमा सिम्रिकले झरना स्पोर्टिङ क्लब, कुन्जलापुरलाई ६–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
भुपु सैनिक खेलमैदानमा भएको एकतर्फी खेलमा सिम्रिकको जितमा अरुण चौधरी नायक रहे । उनले खेलको १२ औ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । १४ मिनेटमा सुरज चौधरी तथा २४ औ रोशन थापाले गोल गरे । दोस्रो हाफमा अरुण चौधरीले थप २ गोल गरे । खेलको ४४ र ६९ औ मिनेटमा अरुण चौधरीले गोल गर्दै आफनो हयाट्रिक पुरा गरे । खेलको ६३ औ मिनेटमा सुरज चौधरीले गोल थपे । खेलमा अरुण प्लेयर अफ दी म्याचबाट पुरस्कृत भए ।
मंगलबार आयोजक भुपुसैनिक जबई स्पोर्टिङ क्लब र चादनी क्लबका बिचमा हुने खेल संयोजक शिव कुमार थापाले बताए ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिका वडा नं १३ का वडा अध्यक्ष नारायण पुनले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेल पूर्वाधार निमार्णमा जोड दिने गरि योजना बनाउन जरुरी रहेको बताए । बुटवलमा खेल गतिविधीसंगै युवा खेलाडीहरु प्लेटफर्म पाएको भन्दै पूर्वाधार विकासमा सबै सरोकारवालाहरु एकजुट हुनुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पिया, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, क्लबका उपाध्यक्ष खेमानसिह रानाले खेल विकासमा खेलकुद संघसंस्थाहरुको योगदानबारे चर्चा गरे ।
कार्यक्रममा क्लबका अध्यक्ष गोपीराम पुनले सालघारी क्षेत्रमा पर्व र संस्कृतिका रुपमा खेल गतिविधि रहेको बताए । यो वर्ष संस्था स्थापनाको ५० औ वर्ष प्रवेश गरेको अवसरमा विविध सास्कृतिक, रक्तदान कार्यक्रमका साथै फुटबल प्रतियोगितालाई निरन्तरता दिन लागेको बताए । प्रतियोगिताको विजेता टिमले नगद २ लाख २२ हजार २२२ रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १ लाख ११ हजार १११ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत उत्कृष्ट चारजना र एक जना सर्वोत्कृष्ट खेलाडीलाई नगदसहित कपबाट पुरस्कृत गरिने उनले बताए । नवलपरासीका दुई र रुपन्देही ६ टिमसहित आठ टिमले भाग लिने उनले बताए । गतवर्ष गोर्खा ब्याईज क्लब विजेता रहेको थियो । १९ लाख रुपैया खर्च हुने अनुमान छ ।