Butwal Today

सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ

२३ चैत्र २०८१, शनिबार
अ+
अ-

बुटवल, २३ चैत ।

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ स्कुल तिलोत्तमा रुपन्देहीबाट कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुन गईरहेका विद्यार्थीहरुलाई शुक्रबार एक कार्यक्रमका बीच आगामी शैक्षिक यात्राका लागि शुभकामना प्रदान गरी बिदाई गरिएको छ ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विद्यालयका अध्यक्ष प्राध्यापक रामलाल श्रेष्ठले विद्यार्थीहरुलाई जीवनलाई सरल, सहज तथा सर्वाेत्तम बनाउनका लागि ईमानदारीता, धैर्यता, लगनशीलता, कडा परिश्रमलाई सधैंभरि पालना गर्न सुझाव दिए । साथै व्यक्ति, समाज र राष्ट्रका हरेक पक्षको विकासको मुख्य आधार शिक्षा रहेकोले जस्तोसुकै परिस्थितिमा पनि अध्ययनलाई अगाडि लैजानु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनालले कक्षा १२ को परीक्षामा मात्र नभई जीवनका हरेक पक्षमा विद्यार्थीले सफलता प्राप्त गरेको देख्न, सुन्न, हेर्न सधैंभरि तयार रहेकोले उक्त अपेक्षा पूरा गर्नका लागि विद्यार्थीलाई सुझाव दिए ।

कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य यम बहादुर रानाले सिद्धार्थका विद्यार्थीले देश तथा विदेशमा आफुलाई सर्वाेत्कृष्ट विद्यार्थीका रुपमा स्थापित गरिसकेको अवस्थामा त्यसको निरन्तरता र थप रचनात्मक उपलब्धि हासिल गर्नका लागि विद्यार्थीलाई शुभकामना दिए ।

कार्यक्रममा कक्षा ११ का विद्यार्थी क्रषभ पौडेल, रितु क्षेत्री लगायतले पनि बोलेका थिए । कार्यक्रम कक्षा ११ का विद्यार्थीको आयोजना र सहजीकरणमा सम्पन्न भएको शिक्षिका नितु पोखरेलले जानकारी दिइन् ।