Butwal Today

सेयर बजारमा २९.८२ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

१७ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

साताको पहिलो दिन आइतबार सेयर बजारमा २९.८२ अंकको वृद्धि भएको छ। राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन सकिएसँगै बजारले वृद्धिको लयलाई कायम राखेको हो। आजको वृद्धिपछि नेप्से परिसूचक २६९३ मा कायम भएको छ।

दिउँसो १:३२ बजे नेप्से परिसूचक २७१८ अंकसम्म पुगेको थियो, तर त्यसपछि केही बिक्री चाप बढ्न पुगेको छ। अघिल्ला दुई दिन लगातार बजार बढेपछि आजको मध्यान्हतिर कतिपय लगानीकर्ताले नाफा बुक गरेका छन्।

आजको कारोबार रकम अघिल्लो दिनको ५ अर्ब २२ करोडबाट बढेर ७ अर्ब ५६ करोड पुगेको छ। २२२ कम्पनीको मूल्य बढेको छ भने २२ कम्पनीको मूल्य घटेको छ।

अधिकांश सेक्टरका सूचक बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन र प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा लगायतका क्षेत्रका सूचक सकारात्मक रहे। यद्यपि, व्यापार सेक्टर ०.२६ प्रतिशत घटेको छ।

जोशी हाइड्रोको मूल्य सबैभन्दा धेरै ९.९४ प्रतिशत बढ्यो। त्यस्तै, दोर्दीखोला हाइड्रोपावर ६.५९, गुराँस लघुवित्त ५.९५ र तेह्रथुम पावर ५.८७ प्रतिशतले बढेका छन्।

सयपत्री हाइड्रो र सामुदायिक लघुवित्तको मूल्य क्रमशः ५.७९ र २.२१ प्रतिशत घटेको छ।

धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स अगाडि रहेका छन्।