© 2026
गुल्मी, १६ चैत ।
गुल्मीमा वषौंदेखि बाँझिएको जग्गामा स्थानीयहरूले व्यावसायीक रूपमा केरा खेती गर्न शुरु गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका –४ अन्र्तगत सेउघामा स्थानीय जातको केरा खेती गर्न थालिएको हो । सेउघाको थुक्का टोलका स्थानीयहरूले ३२ वर्षदेखि बाँझिएको जग्गामा पहिलो पटक केरा खेती गर्न शुरु गरिएको वडाध्यक्ष लिलाधर आचार्यले बताए । स्थानीय भगवती कृषि फर्मले २० रोपनी बाँझो जग्गा भाडामा लिएर आफूहरूले व्यवसायिक रूपमा केरा खेती गर्न शुरु गरिसकेको फर्मका सञ्चालक झबी पाण्डेले बताए । उक्त बाँझो जग्गामा पहिलो चरण तीन सय वटा केराका बोटहरू लगाइएको छ ।
त्यत्तिकै खेर गएको बाँझो जग्गामा पनि केरा खेती गरेर गाउँका अन्य कृषकलाई पनि कृषि पेसामा आकर्षण बढ्ने पाण्डेको योजना छ । उनले आगामी वर्ष स्थानीय जातको पाँच सय बोट केरा लगाउने योजना बनाएको बताए । स्थानीयहरू आफै सक्रीय बनेर बाँझो जग्गामा शुरु गरिएको केरा खेतीको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, वडाध्यक्ष लिलाधर आचार्य सहितको टोलीले अनुगमन गरी कृषकहरूलाई प्रोत्साहित समेत गरेको छ । अनुगमनको क्रममा नगरप्रमुख पन्थीले यसरी व्यवसायिक रूपमा काम गर्ने किसानहरूलाई नगरपालिकाले आगामी दिनमा थप प्रोत्साहन एवं सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
गुल्मीका बजारहरूमा स्थानीय जातको केराको माग धेरै हुने गर्दछ । स्थानीय जातको केरा खानका लागि गुलियो र स्वादिष्ट हुने भएका कारण स्थानीय बजारमा यो केराको मूल्य पनि राम्रो गर्दछ । पछिल्लो समयमा गाउँघरमा बढ्दो बसाइँसराइँका कारण जग्गा जमिन बाँझिने क्रममा पनि उत्तिकै रहेकोे छ ।गुल्मी जिल्लामा तराईबाट वर्षेनी करोडौं मुल्यको केरा भित्रिने गरेको छ । जिल्लामा स्थानीय जातको केराको माग बढे पनि उत्पादन भने अत्यन्तै न्यून रहेको छ । पाण्डेले गत पाँच वर्षदेखि भगवती कृषि फर्म दर्ता गरेर व्यावसायीक रूपमा तरकारी खेती समेत गर्दै आइरहेका छन् । सदरमुकाम तम्घासमा खाद्यान्न व्यवसाय गर्दै आएका पाण्डेले बचेको समयलाई सदुपयोग गरेर आफनै गाउँमा कृषि कर्म गर्दै आएका हुन् ।गाउँका युवा तथा अन्य कृषकहरूलाई कृषि पेसामा टिकाई राख्नको लागि आफुले अगुवा कृषकको रूपमा कृषि कर्म गर्दै आएको पाण्डेले बताए । उनले सञ्चालन गरेको कृषि फर्ममा स्थानीयहरूले रोजगारी समेत पाएका छन ।