Butwal Today

स्कार्पियो दुर्घटना हुँदा दाङबाट भारत तीर्थ यात्रामा गएका चार जनाको मृत्यु

१५ चैत्र २०८१, शुक्रबार
अ+
अ-

दाङ ।

दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तुलसीपुर–७ का वडा अध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजि ३७ वर्षिय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तुलसीपुर–७ श्रीगैँ निवासी मोतिराम वलीको आमा ८० वर्षिय वृद्धाको मृत्यु भएको छ । यस्तै अरु दुई जनाको पनि मृत्यु भएको तर उनीहरुको नाम नखुलेको उनले बताए ।

गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उनले जानकारी दिए । वडा अध्यक्ष जिसीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो ।

गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको प्रारम्भिक अनुमान गरिएको छ । गाडी पनि भारतीय नम्बर प्लेटको भएपनि तुलसीपुरकै रहेको खुलेको छ ।