Butwal Today

बुद्ध सर्किट जोड्न मोनोरेल सञ्चालनको सम्भावनाः मुख्यमन्त्री आचार्य

११ चैत्र २०८१, सोमबार
अ+
अ-

दाङ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आपसमा जोड्न मोनोरेल सञ्चालन गर्ने सम्भावना रहेको बताएका छन्।

प्रतिनिधि सभा सदस्य तथा उद्योगी विनोद चौधरीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा भएको छलफलमा उनले कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई बुद्ध सर्किट अन्तर्गत मोनोरेलमार्फत जोड्न सकिने आधार रहेको बताए। प्रदेश सरकार निजी क्षेत्रसँग साझेदारी गर्दै अगाडि बढ्न सक्ने उनले उल्लेख गरे।

मुख्यमन्त्री आचार्यका अनुसार मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिनेछ र निजी क्षेत्रलाई आकर्षित गर्ने योजना बनाइनेछ।बुद्ध सर्किटको योजना प्रदेश सरकारले बनाएको छ। अब यहाँ मोनोरेल चलाउन सकिन्छ, उनले भने, यसमा निजी क्षेत्रले लगानी गर्न सक्छ।

उनले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय रूपमा ब्रान्डिङ गर्दै विश्वभरका बौद्ध धर्मावलम्बीहरूको प्रमुख गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको बताए। साथै, पर्यटन बोर्डमार्फत लुम्बिनीको समग्र विकासलाई केन्द्रमा राखेर व्यापक योजना निर्माण गरिने पनि उल्लेख गरे।

छलफलका क्रममा प्रतिनिधि सभा सदस्य चौधरीले आगामी आर्थिक वर्षका लागि स्वरोजगार प्रवर्द्धन, स्वास्थ्य सेवा सुधार, सामाजिक सेवा, पूर्वाधार निर्माण तथा लुम्बिनीको पर्यटन विकासलाई प्राथमिकता दिने गरी योजना समेट्न आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?