Butwal Today

महिनावारीबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्ने

५ चैत्र २०८१, मंगलवार
अ+
अ-

सल्यान, ४ चैत ।
महिनावारीलाई लाजको विषय नभएर स्वाभाविक प्रक्रिया मान्ने मानसिकता विकास गराउनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । जिल्लाको छत्रेश्वरी गाउँपालिकामा आइतबार र सोमबार गरेर दुई दिन सम्म संचालन भएको मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धी तालिम समापन कार्यक्रमका सहभागीहरुले महिनावारी स्वाभाविक जैविक प्रक्रिया भएकाले यसबारे सही जानकारी र स्वस्थ अभ्यास हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले महिनावारीसँग सम्बन्धित सामाजिक विभेद हटाई महिलाहरूलाई स्वस्थ, आत्मनिर्भर र सम्मानित बनाउन सबैको ध्यान जानुपर्ने बताए । यस्तै गाउँपालिका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले गाउँपालिकाले सरसफाइ र स्वास्थ्यसँग जोडिएका यस्ता कार्यक्रमलाई प्राथमिकता दिएको बताउदै तालिम प्राप्त सहभागिहरुले आफ्नो गाउँघरमा सुरक्षित, स्वस्थ र मर्यादित महिनावारी व्यवस्थापनको ज्ञान बाँड्नुपर्ने बताए ।
छत्रेश्वरी गाउँपालिकामा संचालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तर्गत महिनावारी सम्बन्धी शिक्षा, सरसफाइ, स्वास्थ्य प्रभाव, सामाजिक दृष्टिकोण, तथा घरेलु स्यानेटरी प्याड निर्माणमा केन्द्रित रहेर तालिम संचालन भएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले जानकारी दिए ।

महिनावारी अझै पनि समाजका केही ठाउँमा लाज, संकोच र अन्धविश्वासले ढाकिएको विषय भएका कारण महिलाहरू विभिन्न समस्यामा पर्ने गरेको भन्दै यस किसिमका चुनौतीलाई ध्यानमा राख्दै महिनावारीको विषयमा खुला संवाद, व्यवहारिक समाधान र सकारात्मक सोच विकास गराउने उद्देश्यले तालिम सञ्चालन गरेको हो ।तालिममा २५ जना महिलाहरु सहभागी हुनुभएको थियो । विभिन्न वडाका आमा समूहका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयम्सेविका, सामुदायिक विद्यालयका सरसफाइ सम्पर्क शिक्षिका तथा वास इकाईका कर्मचारीहरूलाई तालिम प्रदान गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । तालिममा महिनावारी व्यवस्थापनका क्रममा सामना गर्नुपर्ने समस्याबारे छलफल संगै महिनावारीको जैविक प्रक्रिया, हार्मोनहरूको भूमिका, व्यक्तिगत सरसफाइ तथा स्वास्थ्य, महिनावारीका समयमा पोषणको भूमिका र घरेलु स्यानेटरी प्याड निर्माण प्रक्रियाबारे अभिमुखिकरण गरिएको थियो ।
महिनावारी सरसफाइ र व्यवस्थापनमा महिलाहरूलाई आत्मनिर्भर बनाउन तालिममा घरेलु स्यानेटरी प्याड निर्माण गर्ने विधि सिकाइएको वास सहजकर्ता सुरव जलीले जनाए । बजारमा पाइने प्याड महँगो हुनुका साथै प्लास्टिकजन्य फोहर उत्पादन गर्ने भएकाले वातावरणमैत्री घरेलु स्यानिटरी प्याडको उपयोग आवश्यक रहेकोमा जोड दिइएको थियो ।