Butwal Today

अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक’ हवाई आक्रमण सुरु गर्यो

३ चैत्र २०८१, आइतबार
अ+
अ-

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा हुथी विद्रोहीविरुद्ध ‘निर्णायक र शक्तिशाली’ हवाई आक्रमण सुरु गरिएको बताएका छन्। उनले उल्लेख गरे अनुसार, लाल सागरमा रहेको एक जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणको प्रतिक्रिया स्वरूप यो हवाई हमाल गरिएको हो।

ट्रम्पले आफ्नो सामाजिक प्लेटफर्म ट्रुथमा लेख्दै भने, “इरानबाट आर्थिक सहयोग लिने हुथीहरूले अमेरिकी विमानमा मिसाइल प्रहार गरेका छन् र हाम्रा सैनिक र सहयोगीहरूलाई निशाना बनाएका छन्।” उनले यस विद्रोही समूहलाई ‘डकैती, हिंसा र आतंकवाद’ को आरोप लगाउँदै भने कि यसको कारणले अमेरिकाले अर्बौँ डलर गुमाएको छ र नागरिकको जीवन खतरामा परेको छ।

हुथी विद्रोहीको स्वास्थ्य मन्त्रालयले अमेरिकी हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु र ९ जना घाइते भएको जनाएको छ। शनिबार, हुथी विद्रोहीहरूले साना र उत्तरी प्रान्त सादामा शृङ्खलाबद्ध विस्फोटनको सूचना दिएका थिए। यो क्षेत्र साउदी अरबको सीमा नजिक स्थित छ र यहाँ हुथी विद्रोहीको प्रभाव रहेको छ।

यस आक्रमणलाई गाजामा इजरायल-हमास युद्धको जवाफका रूपमा प्रस्तुत गर्दै हुथी विद्रोहीहरूले अमेरिकी जहाजहरूलाई निशाना बनाउन थालेको बताएका छन्। इरान समर्थित यस विद्रोही समूहले इजरायललाई आफ्नो शत्रु मान्दै साना र उत्तरपश्चिम यमनका केही क्षेत्र नियन्त्रण गरेको छ, तर यो अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकार होइन।

सार्वजनिक तस्बिरमा साना एयरपोर्टको क्षेत्रमा कालो धुवाँको मुस्लो देखिएको छ, जसमा सैन्य बेस पनि रहेको भनिएको छ, यद्यपि बीबीसीका अनुसार तस्बिरको आधिकारिक पुष्टि भइनसकेको छ।