Butwal Today

विपक्षी चारदलीय समाजवादी मोर्चाको बैठक भोलि बस्दै

२९ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

विपक्षी चारदलीय समाजवादी मोर्चाले भोलि (शुक्रवार) बैठक बस्ने भएको छ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा दिउँसो ३ बजे हुने बैठकको तयारी चैत १५ गते काठमाडौँमा आयोजना हुने विरोध सभासम्बन्धी हुने मोर्चाका कार्यदल सदस्य तथा नेपाल समाजवादी पार्टी (नेसपा) का सहअध्यक्ष गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार, चैत ९ गते जनकपुरमा राखिएको विरोध सभा अब स्थगित गरिएको छ। उनले भने, “चैत १५ गते काठमाडौँमा हुने विरोध सभाको तयारीका लागि बैठक बस्न लागिएको हो। विरोध सभामा जुट्नुपर्ने भएकाले जनकपुरको विरोध सभा स्थगित गरिएको छ।”

यसअघि, मोर्चाले चैत २ गते बौद्धिक वर्गसँग अन्तर्क्रिया राख्ने कार्यक्रम तय गरेको थियो, जसको शृंखलामा दिउँसो १ बजे पत्रकार सम्मेलन पनि गर्ने तयारी छ। फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको सरकारको आलोचना गर्दै, सडकमा राजावादी शक्तिहरूको सक्रियता बढिरहेको निष्कर्ष निकालेको थियो।

उक्त बैठकले काठमाडौँमा विरोध सभा राखेर प्रतिगामी शक्तिलाई चुनौती दिनुपर्ने आवश्यकतामा जोड दिँदै, काठमाडौँमा विरोध सभाको आयोजना गर्ने निर्णय गरेको थियो।

फागुन २५ गते, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि ठूलो संख्यामा मानिसहरू जम्मा भएपछि मोर्चाले यसलाई व्यवस्थामाथिको चुनौतीको रूपमा विश्लेषण गरेको थियो।