Butwal Today

भ्रष्ट्राचार नियन्त्रण नहुँदा जनतामा निराशा छायोः महामन्त्री थापा

२९ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

सुनवल, २९ फागुन ।
नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालमा भ्रष्ट्राचार नियन्त्रण नहुँदा जनतामा निराशा छाएको बताएका छन् । बुधवार पश्चिम नवलपरासीको सुनवलमा नेपाली कांग्रेसको प्रदेश सभा क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले जनतामा छाएको निराशाको छिटो भन्दा छिटो सम्बोधन गर्नुपर्ने बताए । नेताहरू भ्रष्ट्राचारमा डुबे भन्ने जनमानसमा परेको बताउँदै उनले सबै काण्डहरूको निष्पक्ष छानविन हुनुपर्ने बताए । सरकारका नियामक निकायहरूको अनुसन्धानलाई विश्वास नगर्ने हो भने संसदिय समिति वा अन्य न्यायिक आयोग मार्फत ठूला काण्डहरूको छानविन गरी नेताहरूमा शुद्धिकरणको अभियान सञ्चलान गर्नुपर्नेमा जोड दिए ।  भ्रष्ट्राचार भएको छ तर कारबाही हुँदैन् भन्ने जनतामा परेको बताउँदै थापाले निष्पक्ष छानविन गरेर कुनै पनि हालतमा कारवाहीको दायरमा ल्याउन सके मात्रै नेपाली समाजमा आशाको सञ्चार गर्न सकिने धारणा थापाले व्यक्त गरे ।

विकास निर्माणका काम समेत समयमै पुरा नहुँदा झनै निराशा बढेको बताउँदै महामन्त्री थापाले विकास निर्माणका आयोजना समयमै नसकिनुको कारण सरकारले पहिल्याउनुपर्ने बताए । रोजगारीको अवसर सृजना गरेर जिविकोपार्जनमा समस्या नहुने गरी समान रोजगारीका अवसर सृजना गरेर विशेषगरी युवा पुस्तामा छाएको निराशा हटाउनुपर्नेमा थापाको जोड छ । काग्रेसले अहिले देशमा छाएको निराशा हटाउने वातावरण सृजना गर्नुपर्नेमा पूर्वमन्त्री समेत रहेका थापाको जोड थियो ।सो क्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभाग प्रमुख देवेन्द्रराज कंडेलले साेंच बदल्नुपर्नेमा जोड दिँदै धेरै नकारात्मकताले मुलुकलाई हानि गर्ने बताए । भ्रष्टाचारको आरोप लागेका नेतालाई मंन्चमा राखेर काग्रेसको शुद्धिकरण नहुने बताउँदै कण्डेलले पार्टीमा अराजकता फैलाउनेलाई दण्ड दिनुपर्ने बताए ।

पार्टीका जिम्मेवार व्यक्ति बाटै भईरहेका आराजक क्रियाकलापलाई नियन्त्रण नगर्ने हो भने पार्टी बलियो नबने कण्डेलको भनाइ थियो । केन्द्रीय सदस्य सरस्वती अर्यालले नवलपरासीमा कांग्रेस भित्र देखिएको गुटबन्धिको खेलको गन्ध बाहिरसम्म पुग्ने गरेको बताउँदै पार्टी एक बनाउने तर्फ ध्यान दिनुपर्ने बताईन् । कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री विक्रम खनालले पार्टीलाई एक ढिक्का बनाएर जनतामा छाएको निराशा तोड्नुपर्नेमा जोड दिए । अहिले भ्रष्ट्राचार नियन्त्रण गरी ठूला विकास निर्माणका आयोजनाका काम समयमै सम्पन्न गर्नुपर्ने प्रमुख दायित्व रहेको खनालको भनाइ छ । सो क्रममा कांग्रेस नेताहरू निमा गिरी, विक्रम यादव, भिम बहादुर थापा, वैजनाथ कलवार, उमेशचन्द्र यादव, कृष्ण नारायण श्रेष्ठ, दिपक भुषाल लगायतले बोलेको कृपा कौशल चौधरीले जानकारी दिए ।