© 2026
बुटवल, २७ फागुन ।
कम्युटर एशोसीयसन नेपाल महासंघ (क्यान) रूपन्देहीको आयोजनामा देशमै पहिलो विटुसी समिट बुटवलमा सुरुवात भएको छ । यहि फागुन २६ र २७ गते दुई दिनसम्म चल्ने सम्मेलनको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे । डिजिटल प्रविधिको प्रयोग गरी डिजिटल हस्ताक्षर गरी ल्यापटपमा क्लीक गर्दै सम्मेलनको शुरुवात गरेका हुन् । बुटवलको सिद्धार्थ कटेजमा आयोजना भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले अवको युग सूचना प्रविधिको युग भएको कारण सूचना प्रविधि विना अबको युग परिकल्पना गर्न नसकिने बताए ।उनले सूचना प्रविधिमा पहुँच नभएको व्यक्तिले कोरा शिक्षा हासिल गरेर पछिल्लो प्रतिष्पर्धी समाजमा काम गर्न नसक्ने र बेरोजगार हुने अवस्था आउने बताएका थिए ।
उनले भने–‘जहाँ सूचना प्रविधि जोडीएको हुँदैन त्यो क्षेत्र आफैमा पछि पर्दै जान्छ, जसको लागि सूचना प्रविधिको नयाँ मोडल अंगिकार गरेर अगाडि जानुको विकल्प छैन ।’ मेयर पाण्डेले बुटवलमा सूचना प्रविधिको क्षेत्रमा नयाँ अभ्यासलाई लागू गर्दै अगाडि बढेको स्मरण गर्दै घरबाट नै सेवाग्राहीले सेवा लिन पाउने, गरी पोर्टल सहित सफ्टवेर विकास गरेर काम गर्दै आएको बताए । उनले नक्सा पास देखि लिएर, सिफारिस, राजश्व लगायतका प्रणाली नगरपालिकाले विस्तारै डिजटललाईजेशनमा अगाडि बढेको बताए ।
पछिल्लो समयमा कुनै पनि काम लिनको लागि सेवाग्राही लामो लाईन लागेर बसेको अवस्था देखेमा त्यो सूचना प्रविधिको क्षेत्रमा कमजोर कार्यलय रहेको आंकलन गर्न थालिएको भन्दै उनले यसको लागि कार्यकुशलता प्रदर्शनको लागि क्यासलेस, बैंकीङ्ग प्रणाली सहित अनलाई सूचना प्रणालीमा सबैजना आवद्ध हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बोल्दै महिला उद्यमशिलता सहितको सूचना प्रविधिमा जोडीनुपर्नेमा जोड दिइन् । कार्यक्रममा क्यान महासंघ नेपालका पूर्व केन्द्रीय अध्यक्ष रञ्जीत कुमार गोदारले डिजिटल नेपाल निर्माणमा सबैजनाको बीचमा सहकार्य जरुरी रहेको बताए । यस्तै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले नीजी क्षेत्रको सूचना प्रविधि क्षेत्रमा ठूलो योगदान रहेको भन्दै सरकार, नीजी क्षेत्रको विचमा सहकार्य आवश्यक रहेको बताएका थिए ।
क्यान महासंघ रूपन्देहीका अध्यक्ष जीवन अधिकारीका अनुसार समिटमा हार्डवेयर, पावर सोलुसन, सफ्टवेयर र विभिन्न इन्नोभेसन प्रदर्शन गरिएको छ । अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कार्यक्रम संयोजक तथा क्यान रूपन्देहीका उपाध्यक्ष बिरबहादुर क्षेत्रीका अनुसार समिटमा ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । समिटमा प्राविधिक क्षेत्रमा अध्ययन गरेका विद्यार्थी र नीति निर्माण तहका जनप्रतिनिधि तथा अधिकारीहरू तथा उपभोक्ताहरू सहभागी हुने पनि उनले जानकारी गराए । क्यान रूपन्देहीका सचिव सुरेशचन्द्र भट्टराईका अनुसार समिटमा ब्रान्ड लक्षित कार्यक्रम हुनेछन् । ब्राण्डको प्रमोसन मात्रै गर्नेगरी कार्यक्रमको मोडेल बनाईएकाले खरिद बिक्री हुने छैन । त्यस्तै समिटमा उत्पादक तथा इम्पोटर बिच अन्तक्र्रिया कार्यक्रम गरिने छ । समिटमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्नेछ भने आफ्नो सिमकार्डलाई ई–सिममा परिवर्तन गर्न सकिने छ ।