Butwal Today

पटक-पटक मिति सार्दा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्यौलमा

२७ फाल्गुन २०८१, मंगलवार
अ+
अ-

सुर्खेत ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पटक-पटक मिति सार्दा प्रतियोगिताको विषयमा अन्यौलता छाएको छ । हालसम्म तीन पटक मिति सार्दासम्म पनि प्रतियोगिता हुने विषयमा अझै अन्यौल देखिन्छ ।

राष्ट्रिय खेलकुद परिषद्ले पहिलो पटक गएको मंसिर दुईदेखि ९ गतेसम्म गर्ने निर्णय गरेको थियो । त्यसयता पहिलो पटक म्याद थपेर आउँदो चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता हुने मिति सारियो ।

हाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पछिल्लो बोर्ड बैठकले प्रतियोगिताको अर्को मिति तय गरेको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रतियोगिता २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको छ । चैतमा म्याद थपेको बोर्ड बैठकले पुनःआगामी वर्षको जेठमा मिति तोकेको छ । तर यो मितिमा पनि राष्ट्रिय खेलकुद हुनेमा सरोकारवालाहरू नै विश्वस्त छैनन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजना हुने भनिएको प्रतियोगिताको आयोजक राखेप र व्यवस्थापक प्रदेश खेलकुद विकास परिषद् हुन् । तोकिएको मितिमा वीरेन्द्रनगरमा अत्यधिक गर्मी हुने तथा मौसम प्रतिकूलताका कारण सो समय उपयुक्त नभएको बताइन्छ ।

अर्थ मन्त्रालयले बजेट स्वीकृतिमा ढिलाई गरेको कारण देखाउँदै चैत्रमा सम्भव नभएको राखेपले जनाएको छ । संघीय सरकारले चालु आर्थिक वर्षमा प्रतियोगिता सम्पन्न गर्न ६० करोड रूपैयाँ विनियोजन गरेको थियो ।

गण्डकीको पोखरामा नवौँ राष्ट्रिय खेलकुद समापन हुँदा २०८१ मंसिर २ गतेदेखि ९ गतेको मिति प्रस्ताव गरिएको थियो । पूर्वाधार तयारी अवस्थामा हुँदा समेत सरकारले प्रतियोगिता सञ्चालनमा चासो नदिएको सरोकारवालाको गुनासो छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नसार्न राष्ट्रिय खेलकुद परिषद्लाई आग्रह गरेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक समितिको काठमाडौंमा सम्पन्न बैठकमा मुख्यमन्त्री कँडेलले पटकपटक मिति सार्ने कामले प्रतियोगितालाई अन्योल बनाउने र जनविश्वास गुम्ने हुँदा अब मिति सार्ने काम नगर्न परिषद्लाई आग्रह गरेका हुन् ।

यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मूल आयोजक सचिवालय सञ्चालनमा ल्याइएको छ । गएको आइतवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालयको उद्घाटन समेत गरिएको छ । युवा तथा

खेलकुदमन्त्री तथा प्रतियोगिता मूल आयोजक समितिका अध्यक्ष तेजुलाल चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् प्रतियोगिता मूल आयोजक समितिका सह अध्यक्ष यामलाल कँडेलले वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा सचिवालयको उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीले जेठ ३ गतेदेखि तोकिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब कुनै बहानामा नसर्ने प्रतिवद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?