© 2026
कपिलवस्तु, २६ फागुन ।
कपिलवस्तुमा लागु औषध दुरुपयोग तथा अबैध ओसार पसारको समस्या समाधानका लागि तीन महिने अभियान सञ्चालनका लागि कार्ययोजना निर्माण गरिने भएको छ ।
लागु औषध नियन्त्रणका लागि प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा सम्पन्न सुरक्षा निकाय र सरोकारवाला निकाय बिचको समन्वय बैठकमा तीन महिने कार्ययोजना निर्माण गर्ने निर्णय गरिएको छ ।
संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९८७ देखि प्रत्येक बर्ष जुन २६ तारिखका दिन मनाइने लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार सम्बन्धी अन्तर्राष्ट्रिय दिवश भव्य रुपमा मनाउन बनाइने कार्ययोजनाका लागि कार्यदल समेत बनाइएको छ ।
जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा प्रहरी नायब उपरीक्षक मोहनमणी अधिकारी, शिक्षा समन्वय विकास इकाईका शाखा अधिकृत अर्जुन कुंवर, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, जिल्ला प्रशासन कार्यालयका नासु बाबुराम शर्मा, पत्रकार महासंघ शाखा उपाध्यक्ष खग प्रसाद चापागाई, गैसस महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेय र आस्था समूहका कार्यक्रम संयोजक प्रकाश घिमिरे सदस्य रहेको ८ सदस्यीय कार्यदल गठन गरिएको छ ।
कार्यदलले गृह मन्त्रालयबाट प्राप्त नमुना कार्ययोजना अध्ययन गरी ७ दिन भित्र तीन महिने कार्ययोजना तयार गरी बैठकमा पेश गर्ने निर्णय गरिएको हो । तयार पारिएको तीन महिने कार्ययोजना कार्यान्वयनमा ल्याई लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार सम्बन्धी अन्तर्राष्ट्रिय दिवशका दिन कार्यक्रम समापन गरिने प्रजिअ अर्यालले जानकारी दिए ।
लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार सम्बन्धी विश्वव्यापी समस्या समाधान गर्न सचेतना अभियान र सरकार तथा निजी क्षेत्र, समुदाय बिच सहकार्यमा कार्यक्रम गरिदै आएकोमा चालु आर्थिक बर्षमा गृह मन्त्रालयले तीन महिने अभियानको नमुना कार्ययोजना जिल्लामा पठाए सगै सो तयारी गरिएको जनाइएको छ । बैठकमा कृष्णनगर नगरपालिकाकी उपप्रमुख आरतीदेवी चौधरी, सहायक प्रजिअ परमानन्द घिमिरे, प्रहरी उपरीक्षक निरन्जनदत्त भट्ट, सशस्त्र प्रहरी उपरिक्षक नेत्र केसी, प्रमुख अनुसन्धान अधिकारी दिनेश पोख्रेल, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुनाराम पौडेल, शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेल र बिजयनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल लगायतको सहभागिता रहेको थियो ।