© 2026
बर्दघाट, २६ फागुन ।
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले जँगल मुहान श्रोतको पानी सँकलन केन्द्र (ग्रावेटी सोर्स रिजर्ववायर टँकी) मै अटोमेटिक डोजिङ्ग मेशिन सँचालनमा ल्याएको छ । राजमार्ग देखी करिव १ हजार ५ सय मिटर जँगल क्षेत्रमा रहेको रिजर्ववायर टँकीमा विद्युतिकरण भएसँगै अटोमेटिक डोजिङ्ग सँचालनमा आएको हो । पानी सँकलन क्षेत्रमा गरिएको विद्युतिकरणको एक कार्यक्रमका बीच बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले उद्घाटन गरेका थिए । विद्युतिकरणको उद्घाटन गर्दै नगर प्रमुख श्रेष्ठले पानी सँकलन र प्रशोधन क्षेत्रमा विद्युतिकरणसँगै हरेक कार्य छरितो र सुरक्षित हुने बताए । बर्दघाट खानेपानी संस्थाले आफ्नो आयोजना क्षेत्र (वडा नम्बर ४) मा जसरी एकघर एकधाराको अवधारणा पुरा गरि हरेक घरमा खानेपानीको पँहुच पु¥याएको छ, बाँकी वडाहरूमा समेत सँचालनमा रहेका सँस्थाहरूसँग समन्वय गरि नगरलाई नै एकघर एकधारा बनाउने योजना रहेको समेत उनले बताए ।
सँस्थाका अध्यक्ष दिपक लम्सालले सँस्थाले २६ औँ स्थापना दिवसकै दिन पानी सँकलन र प्रशोधन क्षेत्रमा भएको विद्युतिकरणले थप राहत पुग्ने बताए । विद्युतिकरण हुन नसक्दा सँकलन क्षेत्रमा निगरानीको लागि सि सि क्यामेरा, बत्ती लगायत जडान गर्न सम्भव नभइरहेको अवस्थामा अव विद्युतिकरण सँगै मर्मत सुधारका कार्य, सिसि क्यामेराको जडान लगायतमा सहज हुने समेत बताए । सँस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना टोलीका सँयोजक कमल थापाले पानी शुद्धिकरणको लागि प्रयोग गरिने क्लोरिन म्यानुअल राख्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । अटोमेटिक डोजिङ्ग मेशिनले अब निरन्तर पानी प्रशोधन गर्दा उपभोक्ताहरू थप निश्चिन्त रहने वातावरण सिर्जना भएको उनको भनाइ थियो ।
२६ औँ स्थापना दिवस एवं विद्युतिकरण उद्घाटन कार्यक्रमलाई वडा नम्बर ४ का वडाध्यक्ष एवं सँस्थाका सल्लाहकार बेधविना तिवारी, पूर्व अध्यक्ष सिद्धि विलास हमाल, सल्लाहकार एवं पूर्व अध्यक्ष कमान सिँह थापा, सल्लाहकार गँगा पाण्डे लगायतले सम्बोधन गरेका थिए ।
राजमार्गदेखि सँरचना रहेको स्थानसम्म पोल, तार लगायतमा नेपाल विद्युत प्राधिकरण र बर्दघाट नगरपालिकाको ५ लाख ६८ हजार ४ सय ८३ रूपैयाँ लगानी रहेको थियो भने सँस्थाले करिव १ लाख रूपैयाँ सँरचना क्षेत्रमा थप कार्य गरेको सँस्थाका ब्यवस्थापक विष्णु कुमार भुसालले जानकारी दिए । २०५५ सालमा स्थापना भएको सँस्थाले बर्दघाट नगरपालिका वडा नम्बर ४ का ४ हजार १ सय ७९ उपभोक्ताहरूलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउँदै आएको छ ।