© २०२३
नवलपरासी, २४ फागुन।
नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रले अनियमित विद्युत काट्दा रामग्रामका औद्योगिक क्षेत्र प्रभावित बन्ने गरेको उद्योगीहरूले जनाएका छन्। विद्युतका लागि बहुविकल्प भन्दै आएको नवलपरासीको औद्योगिक क्षेत्रमा विद्युत आपूर्ति बेला बेलामा बन्द हुँदा उद्योगहरूले क्षति भोग्नुपरेको उद्योगीहरूले बताए।
उद्योग बाणिज्य संघले औद्योगिक क्षेत्रको समस्या र चुनौतीबारे शुरु गरेको सुझाव संकलन अभियान अन्तर्गत सुझाव संकलन गर्दा यस्तो समस्या पाइएको छ। संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता सुझाव संकलनमा जुटेका छन्। समस्या बुझ्ने क्रममा उद्योगहरूले विभिन्न समस्यासँगै अनियमित विद्युत कटौती पनि चुनौतीको रूपमा देखाएको उद्योग उपाध्यक्ष पाण्डेले जानकारी गराए। संघले सम्बन्धित निकायमा सो समस्या समाधानका लागि पहल गर्नेछ, उनले भने, “बाहिरबाट उद्योगलाई जसरी हेरिन्छ, भित्र उद्योगको आफ्नै पीडाहरू रहेको बुझ्न थालिएको छ।” विद्युत महशुल उद्योगले बुझाएनन् भन्ने कुरा विद्युत प्राधिकरणले उठाउने गर्छ। केही दिन ढिलो भयो भने जरिवाना तिराई हाल्छ, तर विद्युत आपूर्ति समस्याले उद्योगलाई कति क्षति भयो, त्यसबारे कहिलै विचार पुर्याइँदैन। तर आफ्नो गल्ती स्वीकार्दै कहिलै पनि भन्दैन।
अर्बौं लगानी गरेर औद्योगिक क्षेत्रमा रहेको गोयल स्पात प्रालिको स्टिल उद्योगमा ५ सय भन्दा बढी कर्मचारी र मजदुर काम गरिरहेका छन्। दिनको एक घण्टा विद्युत काटिँदा सो उद्योगका मजदुर कामविहीन हुन्छन्। कामको ५ सय घण्टाको १२ घण्टाको दरले ४१ जना दैनिक मजदुरको ज्याला तिर्नुपर्ने हुन्छ। यसरी विद्युतका लागि १ घण्टा भए पनि उद्योगको क्षति ४१ जनाको दैनिक ज्याला हो। ४१ जना मजदुरको ज्याला कम्तीमा ३० हजार हुन्छ। उत्पादनमा हुने ह्रासको कुरा त परै जाओस्, उद्योगका उत्पादन गरि आपूर्ति गरिने पार्टीलाई विभिन्न बहाना बनाउँदै टार्नु पर्ने अवस्था हुन्छ। यो उद्योग एउटा दृष्टान्त मात्र हो। यो एउटा उद्योग हो, उद्योगका एक प्रबन्धकले भने, तर औद्योगिक क्षेत्रमा पचास भन्दा बढी उद्योगहरू स्थापना भइसकेका छन्। हजारौंको संख्यामा कर्मचारी र मजदुर कार्यरत छन्। विद्युत प्राधिकरणले विद्युत काट्ने हो भने पूर्व जानकारी दिई काट्दा कम्तीमा मजदुरहरूलाई सो दिन छुट्टी दिन सकिन्छ वा अन्य कामका लागि योजना बनाएर बोलाईन्छ।

गिरीराज पाण्डे उद्योग उपाध्यक्ष
उद्योग वाणिज्य संघ, नवलपरासी
यता नियमित विद्युत काट्ने अवस्था नरहेको विद्युत प्राधिकरणका परासी वितरण केन्द्रका सूचना अधिकारी रामाशंकर शाहले बताए। जिल्लामा विद्युतको बहुविकल्प दिइने कार्यलाई व्यवस्थित बनाउने क्रममा बेला बेलामा विद्युत आपूर्ति बन्द गर्न परेको उनको भनाइ थियो। औद्योगिक क्षेत्रमा दुई चार वटा ठूला उद्योग बाहेक अन्य उद्योगलाई असर पार्ने गरी विद्युत आपूर्ति बन्द भएको छैन। कहिले काँही लोडको पनि समस्या हुन्छ, उनले भने, “त्यो बेला मात्र ३३ केवीको लाइन बन्द गरेर ११ केभीमा आपूर्ति हुन्छ।” उद्योगकै विद्युत आपूर्ति रोकेर भएपनि गृहस्थ विद्युत आपूर्ति गर्नैपर्छ। पिक आवरमा पनि उद्योगभन्दा आम नागरिकलाई लक्षित गरेर विद्युत आपूर्ति गरिने हुँदा कहिले काहीँ समस्या आउने गरेको उनले सुनाए। बहुविकल्पका विद्युत आपूर्ति बनाउने कार्य चलि नै रहेको हुँदा अहिले पूर्ण रूपमा व्यवस्थित भने भइसकेको छैन, उनले थपे, “५/६ महिना पछि सम्भवतः सबै समस्या समाधान होला।”
उनका अनुसार आफ्ना ग्राहकहरूलाई विद्युत आपूर्ति व्यवस्था चुस्तदुरुस्त बनाउँदै वैकल्पिक विद्युत आपूर्तिको व्यवस्था गरिरहेका छन्। विभिन्न प्रसारण लाइन अन्तर्गतका ५ वटा सबस्टेशनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपूर्ति सञ्जालमार्फत बहुविकल्पको व्यवस्था भइरहेको हो। परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जाँदा उद्योग खुल्ने क्रम पनि बढ्दै गएको छ। परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधैंभरि पूर्ण भोल्टेज क्षमताको विद्युत आपूर्ति गर्न सकियोस् भनेर विभिन्न ५ वटा विद्युत सबस्टेशनबाट विद्युत आपूर्तिको व्यवस्था गर्दै रहेको उनले जानकारी गराएका थिए। यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, “ग्राहकलाई विद्युत आपूर्तिमा समस्या नहोस् भनेर एउटा मात्रै नभई पाँच वटा विकल्प बन्दै छन्।” एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपूर्तिमा समस्या आउने छैन, उनले थपे, “किनकि यस क्षेत्रमा विद्युत आपूर्ति गर्नका लागि विभिन्न पाँच वटा सबस्टेशनसँग सञ्जाल जोडिँदै छ।” तीन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडिसकिएको छ। दुई वटा स्टेसन मध्ये हुकई सबस्टेशन निर्माणाधीन छ।
उनका अनुसार अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखि १२ मेगावाट विद्युत वितरण भइरहेको छ। उद्योगमा पनि दैनिक ६० देखि ७० मेगावाट विद्युत सप्लाई भइरहेको सूचना अधिकारी शाहले बताए। यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखि ९० मेगावाट विद्युत वितरण गरिरहेको छ।बुटवल ३३ केवी प्रसारण लाइन, नयाँ बुटवल ३३ केवी प्रसारण लाइनसँग पनि विद्युत जोडिँदै छ। ज्यामिरेको ३३ केवी प्रसारण र गण्डक प्रसारण लाइनसँग पनि विद्युत सञ्जाल जोडिएको छ। नेपालको पूर्वी क्षेत्रबाट पनि केही महिनामा जिल्ला जोडिने समेत उनले बताए। नेपालकै विद्युत आपूर्तिमा स्वर्णिम जिल्लाको रूपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ। यसले गर्दा यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रतिदिन बढेको छ। यहाँका बासिन्दाले किन उद्योगहरूको रोजाइ नवलपरासी पश्चिम बन्ने कुरा आश्चर्य लाग्न सक्छ, उनले भने, “तर उद्योग सञ्चालकहरूले उद्योगमा विद्युत आपूर्तिको सहज वातावरण देखेर नै आकर्षित बन्दैछन्।”
नेपाल सरकारको उद्योग मन्त्रालयले पनि यस क्षेत्रमा औद्योगिक क्षेत्रमा विद्युत आपूर्तिका लागि विद्युत परियोजनामा लगानी गरेको मध्ये नवलपरासी पनि एक जिल्ला परेको छ। परियोजना कार्यालयले विद्युत प्रसारण लाइनहरू विस्तार गर्दै स्टेसन निर्माण गर्दै आएका छन्। त्यसै अनुसार यस क्षेत्रमा बहुराष्ट्रिय कम्पनीसहित नेपाल-भारतको संयुक्त लगानी तथा नेपालीहरूको लगानीमा जिल्ला भरि उद्योग लगाउने स्थानको खोजी गर्नमा लागेका छन्। जिल्लाभित्र सय भन्दा बढी उद्योग खुलि सकेका छन्। केही खुल्ने क्रममा छन्। उद्योग क्षेत्रमै एक खर्बभन्दा बढी लगानी भएका छन्। ती उद्योगहरूले यहाँको कच्चा पदार्थ र वातावरणीय सुरक्षा भन्दा विद्युत आपूर्ति सहजतालाई देखेर प्राथमिकतामा राखेर उद्योग खोल्दै आएका छन्।