© २०२३
काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)ले जारी ‘जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान’ रोकेर पार्टी पदाधिकारी बैठक डाकेको छ।
सामाजिक सञ्जालसहित सडकमा पनि राजाका समर्थकहरू उत्रिन थालेपछि अभियान रोकेर नयाँ राजनीतिक रणनीति तय गर्न बैठक डाकिएको माओवादीका नेताले नेपालखबरलाई जानकारी दिए। ती नेताका अनुसार आइतबार पदाधिकारी बैठक बस्नेछ।
‘यो सरकारको कामले जनतामा निराशा छाएको छ। राजावादीहरू सलबलाएका छन्,’ ति नेताले भने, ‘राजावादीहरू सलबलाउँदा अरु कुनै दल बोलेको देखिएन। माओवादीले नै गणतन्त्र ल्याएको हो। यसको रक्षा पनि माओवादीले नै गर्ने हो भन्ने सन्देश अझै फैलाउन अहिलेलाई अभियान स्थगित गरिएको हो।’
माओवादी अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’का स्वकीय सचिव गोविन्द आचार्यले तराईमा होली लागिसकेको र समसामयिक राजनीतिक विषयमा पनि छलफल गर्नुपर्ने देखिएको अभियान पुन:सुरु गर्ने गरी स्थगित भएको जानकारी दिए।
‘तराईमा होली पनि लागिसकेको छ। समसामयिक राजनीतिक विषयमा छलफल पनि गर्नुपर्ने देखिएकोले अभियान स्थगित गरिएको हो,’ उनले भने, ‘सरकारले गरेका कामकारबाही र अहिलेको व्यवस्थामाथि धावा बोल्ने काम भइरहेकोले खबरदारी गर्न माओवादीले आफ्नो भूमिका खेल्ने गरी तयारी गर्न लागि परेको छ।’