© २०२३
रूपन्देही, २४ फागुन।
एक कार्यक्रममा व्यवसायीहरूले व्यवसायका हक अधिकारका लागि सरकारले चासो नदेखाएको बताएका छन्। व्यवसायीहरूले व्यवसाय गर्ने वातावरण देशमा नबनेको उनीहरूको भनाइ थियो।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले निजी क्षेत्र कमजोर भए सरकार बलियो हुन नसक्ने बताएका छन्।
सिद्धार्थ उद्योग बाणिज्य संघ रूपन्देहीको ६६औं वार्षिक साधारणसभा तथा अधिवेशनमा बोल्दै मन्त्री खड्काले सबै मिलेर मुलुक निर्माण गर्ने बताउँदै सरकारको निकायमा बसेर झुठो विवरण पेश गरेर अनि जनतालाई दुःख दिने कुरा सरकारलाई किमार्थ स्वीकार्य नहुने बताए।
“मलाई थाहा छ मैले सम्हालेको मन्त्रालयमा डेडिकेटेडका नाममा जसले त्यो प्रयोग नै गरेको छैन, महसुल मात्रै होइन, हर्जाना समेत तिर्नु पर्छ भनेर बिल पठाइएको छ,” मन्त्री खड्काले भने, “यो छानबिन गरौं न त भनेको छैन।”
“महसुल मात्रै होइन, यही रूपन्देहीको २२ वटा उद्योगको लाइन काटिएको अवस्था थियो, जति प्रयोग गर्यो, त्यति तिर्ने हो,” मन्त्री खड्काले भने। “अन्याय अत्याचार हुन हुँदैन, त्यसको अभिभावक सरकार हो, यस्ता अन्यायपूर्ण काम हुन सरकारले दिँदैन। तपाईका पिर मर्का सरकारको हो। सबै नागरिकको अभिभावक भनेको सरकार हो।”
“कुन काम गर्दा अर्थतन्त्र बलियो हुन्छ, तीन तहका सरकारले निजी क्षेत्रको सहयोग लिएर अघि बढनुपर्छ,” मन्त्रीले भने। “हामीले बिक्री गरेको विद्युत बंगलादेश वा भारतमा बिक्री हुने गरेको छ,” उनले थपे।
“१० वर्षमा साढे १३ हजार मेगावाट विद्युत उत्पादन गर्ने गरी काम गरेका छौं। विद्युतपछि अर्को आर्थिक विकास गर्न सकिने क्षेत्र पर्यटन हो,” मन्त्री खड्काले भने। “अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ, व्यक्तिगत सम्बन्धका कारण पनि पर्यटक भित्रिन्छन्,” उनले थपे।
अस्थिरता र अशान्ति सधैँ भएका कारण दुई दल मिलेर सरकार बनेको बताउँदै मन्त्रीले जनताको संविधान निर्माण भएको बताए। “समयअनुकूल संविधान बनाउने र समृद्धि कायम गर्ने लक्ष्यका साथ काम गर्ने बताउँदै उनले मुलुकका हित विपरीत सरकारले काम नगर्ने बताए।”
“गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चलायमान बनाउन सरकारको प्राथमिकता रहेको र सबै घरमा उद्यमी उत्पादन गर्नुपर्छ, अनि हाम्रा प्राथमिकता यसरी अघि बढनुपर्छ,” मन्त्री खड्काले भने।
लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पाण्डेले नेपालले पर्यटनको माध्यमबाट आर्थिक परिवर्तन गर्नुपर्ने बताए। “नेपालका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्नुपर्ने” उनको भनाइ थियो।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खाँनले सबैले ऊर्जा वाला गाडी चलाउनु पर्ने, वातावरण सरकारले बनाउनुपर्ने बताए।
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आयात गर्ने वा आयात गर्ने दुबैमा कठिनाइ भएको निजी क्षेत्र चिन्तित भएको बताए। “बजार चलायमान हुन सरकारले स्किम दिनुपर्ने, तर सधैँ करले व्यवसायीलाई समस्यामा नपार्न आग्रह गरे।” “सरकारले आयात, निर्यात, कि त विद्युतमा सुविधा दिन,” शर्माले आग्रह गरे।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेश कुमार अग्रवालले सबै व्यवसायीको मनोबल घटेको बताउँदै ३०–४० प्रतिशत मात्र उद्योग चलेको बताए। “केही कदम तत्काल उठाएमा मन्दीबाट बाहिर आउने बताउँदै पूँजीगत खर्च बढाउनु पर्ने बताए।”
सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी, व्यवसायीहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा होटेल, पर्यटन क्षेत्रमा अरबौं लगानी गरेको बताउँदै उद्योग बाणिज्य संघले ३०–४० प्रतिशतले उत्पादन गरिरहेको, उद्योगी व्यवसायी पलायन भएको मुलुकको आर्थिक अवस्था अझै दयनीय हुने बताउँदै निजी क्षेत्रलाई आश्वासन मात्रै दिएर उद्योगी व्यवसायी चिन्तित बनेको बताए। “फर्म दर्ता गर्न महिनौंसम्म झन्झट लाग्ने, चोरी तस्करीले राजस्व नउठ्नुका साथै अपराधका घटना समेत बढ्ने गरेको,” उनले भने।
आन्तरिक उडान सञ्चालन गर्नका लागि मन्त्री समक्ष अध्यक्ष श्रेष्ठले आग्रह गरेका थिए।
कार्यक्रममा साहित्यमा योगदान गरेका साहित्यकार वनमाली निराकार, पत्रकारिताबाट योगदान गरेको भन्दै पत्रकार रबिन्द्रप्रताप गुप्ता, नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराई लगायतलाई सम्मान गरिएको थियो।
निर्वाचन कार्यक्रम (मतदान) फागुन २४ गते शनिबार हुनेछ। शनिबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुने संघकी कार्यकारी सचिव कमला बस्नेतले बताइन्। सिद्धार्थ उद्योग बाणिज्य संघका २ हजार १ सय १२ जना सदस्यहरू छन्।