© २०२३
काठमाडौं, २४ फागुन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले टिपरहरूका लागि छुट्टै व्यवस्था हुनुपर्ने बताएका छन् । टिपरहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका हुन् ।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरूको लगानी भएका टिपरहरूले कानुन मान्ने नगरेको उनको आरोप छ ।
टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ । ‘धेरै स्थानीय तहका प्रतिनिधिहरूको लगानी रहेको छ टिप्परका उनीहरूले कानुन मान्दैनन् । टिपरलाई फरक लाइसेन्सको व्यवस्था गरियोस् भनेर टेक्निकल एडभाइस पनि आएको छ,’ उनले भने ।यसैबीच काठमाडौंको शंकरापुर नगरपालिका –६ सलम्बुटारस्थित बेवारिसे बालबालिकाहरूको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस) ले सञ्चालन गरेको आश्रयस्थलमा शुक्रबार दिउँसो बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर आश्रयस्थलको टहराभित्र छिरेको थियो ।
त्यसको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको आश्रय स्थलका फाउण्डर अध्यक्ष युवराज थापाले जानकारी दिए । उनका अनुसार आकाश र सुमन घटनास्तथलमै मृत्यु भएको छ । अर्का एक जना बाजे हरिजन गम्भिर घाइते अवस्थामा अस्पतालमा मृत्यु भएको छ ।