Butwal Today

हुलाकी राजमार्गको सास्ती बढ्दो

२२ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

नवलपरासी, २२ फागुन ।
जिल्लाको हुलाकी राजमार्ग सेमरी—त्रिवेणी खण्ड पाँच वर्ष वित्दा पनि सम्पन्न नभएपछि त्यसबाट प्रभावित प्रतापपुर गाउँपालिकाले हुलाकी आयोजना कार्यालय कपिलबस्तु गोरुसिँगेमा धर्ना बस्न जाने पीडितहरूसँग अपिल गरेको छ । गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बुधवार एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै अपिल गरेका हुन् ।स्थानीय स्तरबाट पटक–पटक ध्यानाकर्षण, धर्ना लगायतका कार्य गरी सचेत गराउँदै आएको भएपनि आयोजना कार्यालय र सम्बन्धित निर्माण व्यवसायीहरूले झुठ्ठा आश्वासन दिने र पीडितलाई झुक्याउने कार्य गर्दै आएको बताउँदै आयोजना कार्यालयमै पुगेर धर्ना बस्ने योजना बनाइएको अध्यक्ष यादवले बताएका छन् । यहीँ फागुन २६ गते धर्ना बस्न जाने भनेर विज्ञप्तिमा उल्लेख गरिएको छ । यो भन्दा पहिला पनि अध्यक्ष यादवले असोज ३ गते नै दशै सकिने वित्तिकै काम शुरु गर्ने भन्दै अनसन कार्यक्रम स्थगित गराएको थियो । त्यो आश्वासन पनि अहिले झुठो सावित भएको छ, उनले भने, बेलामै सडक नबन्दा नहुँदा स्थानीयलाई सास्ती भोग्न परेको छ । त्यसको विरोध स्थानीयबासीले गाउँपालिकालाई नै काम नगराएको आरोप समेत लगाउँदै आएका छन् । साढे ६ किलोमिटर उक्त सडक खण्डमा जहाँतही खाल्टाखुल्टीमा पानी जम्मा हुने र बाँकी सडक बर्षायाममा हिलाम्य हुने र गर्मीमा धुलाम्य हुने हुँदा स्थानीयलाई सास्ती ब्यहोर्न परेको हो ।

जनताले गाउँपालिका अध्यक्ष पहल नगरेको आरोप लगाउने गरेका छन्, आफूले निरन्तर ठेकेदार हुलाकी आयोजनालाई हुलाकी छिटो सम्पन्न गर्न ताकेता गर्दै आएको उनको भनाइ थियो । तर सुनुवाई भइरहेको छैन्, स्थानीयसँगै अनसन केही दिनमा शुरु गरिने उनले दाबी गर्दै भने, यसमा सबैले साथ दिनुपर्छ । संघीय सरकारले काम गराउन सक्दैन भन्ने ती रकम स्थानीय तहलाई नै दिनुपर्छ, उनले भने, काम गराउन पनि नसक्ने र रकम पनि हस्तान्तरण गर्न नसक्ने सरकारी कर्मचारीकै नियत माथि प्रश्न रहेको छ । यसको निराकरणका लागि पनि अब जनतासँगै मिलेर आन्दोलन गर्ने उनले बताए ।
हुलाकी राजमार्गको स्तरोन्नती नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयले काम गराउँदै आएको छ । सडक स्तरोन्नतीको ठेक्का बज्रगुरु महालक्ष्मी जेभी कुपुण्डोल ललितपुरले लिएको छ । २०७६ मंसिर १ गते सम्झौता भई काम शुरु भएको र आन्तिम म्याद पनि २०७९ मंसिर १ गते ठेक्काको म्याद सकियो, फेरि म्याद थप्ने कार्य आयोजना कार्यालयले गरेको छ । तर काम भने पूरा भएको छैन् । कुल ४९ करोड ६० लाख ६२ हजार ५ सय ४६ रुपिया भ्याट र पीसी बाहेकको रकममा काम सम्पन्न हुनेगरी सम्झौता गरिएको छ ।
सडकमा ढिलाई त छँदैछ, ती सडकमा रहेका वर्षौंदेखिका पुलहरू जीर्ण भए पनि त्यसको निर्माण नभएको प्रति प्रतापपुर गाउँपालिकाले ध्यानाकर्षण गराएको थियो । हुलाकी राजमार्ग निर्माण गर्ने ठेकेदारले पुल निर्माणतर्फ ध्यान नदिँदा ती पुल निर्माण हुन नसकेको प्रति ध्यानाकर्षण भएको हो ।

हुलाकी राजमार्ग नेपाल सरकारले निर्माणका लागि ठेक्का गरेको भए पनि त्यसमा रहेका दर्जन पुलको पनि निर्माण हुने कि नहुनेबारे स्थानीय अनभिज्ञ छन् । पुलसमेतको ठेक्का भएको भए ठेकेदारले सडक बनाउनु पूर्व पुल निर्माणका कार्य पनि शुरु गर्नु पर्छ, तर अहिले पुलबारे स्थानीय तहलाई पनि खासै जानकारी नभएको प्रतापपुर गाउँपालिकाका अध्यक्ष यादवले बताए । सडक निर्माणकै लागि पटक पटक ठेकेदारलाई दबाब दिइएको भए पनि अझै सम्म अटेरी गरेको थियो, उनले भने, ठेकेदारका उपकरणहरू नियन्त्रणमा लिए पछि प्रजिअ मार्फत सम्पर्कमा आएको थियो । काम बेलामै सक्ने बताए पनि हुलाकी राजमार्गको निर्माण कार्य कछुवा गतिमा छ, उनले थपे, हुलाकी सडक आयोजना प्रमुखहरूले पनि वेवास्ता गर्ने गरेका छन् । काम गराउने आयोजनाको तर्फबाट के प्राविधिक हो त्यसको पनि सम्पर्क हुँदैन । ठेकेदारको अधिकारिक प्रतिनिधि पनि भेटाउन गाह्रो हुन्छ । काम गर्ने सामान्य कामदारले आफूहरूलाई आयोजनाको विस्तृत जानकारी नभएको बताउने गरेका छन् ।

हुलाकी मार्गमा काम गर्न ठेकेदारले ढिलाई गर्दा प्रतापपुर र सुस्ता गाउँपालिकाका बासिन्दाले सास्ती भोगिरहेका छन् । सडक आयोजना सँगै पुलको पनि निर्माण कार्य हुँदै गर्दा एकै पटक समस्या हुन्थ्यो, तर पुल बनाउने कुनै लक्षण नै देखिएको छैन । सो सडकमा पर्ने अधिकांश पुल गण्डक नहर र नहरका शाखा, प्रशाखा तथा जलनिकासका लागि बनाइएका ड्रेनहरू रहेका छन् । तर सो सम्झौतामा कुन स्थानमा के के निर्माण हुनेबारे स्थानीय तहहरूलाई समेत जानकारी छैन । लगत स्टिमेट र कामबारे स्थानीय तहलाई पनि व्याख्या गरेर जानकारी गराउनु आवश्यक रहेको अध्यक्ष यादवको भनाइ थियो । सडकको सर्वेक्षण पनि कति बेला कसरी हुन्छ ? त्यसको जानकारी छैन, उनले भने, सर्वेक्षणको बेला कम्तीमा स्थानिय तहलाई समेत सहभागिता गराएर विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउँदा स्थानीयस्तरको आवश्यकता हामीले पनि सो आयोजनामा राख्न लगाइन्थ्यो । एकै पटक सम्झौता भएर ठेकेदारले बोर्ड लगाउने बेला मात्र जानकारी हुन्छ, कि संघीय सरकारले यसमा काम गरिरहेको छ ।

ठेकेदारले एक तिरबाट काम गर्दै सकाउदै काम पनि गर्दैनन् । सबै तिर एकै पटक खनेर सडकमा आवागमन रोक्ने अवस्था सिर्जना गर्ने गर्छन् । अहिले हुलाकी राजमार्गको अवस्था त्यही देखिएको छ । सडक स्तरोन्नती भनिएको छ । तर सबै तिर सडक खनेर खाल्टाखुल्टी बनाइएको छ । आउने जाने अवस्था नै बिगारेपछि स्थानीबासीको दबाव गाउँपालिकामा बढ्छ, उनले भने, कतिपय स्थानमा त स्थानीय तहले हिलो र खाल्टो पुरेर माटो ग्राभेल हालेर राहत दिलाउने गरिन्छ, जुनकी नियमले मिल्दैन । तर पनि आफ्ना स्थानीय जनताको वास्तविक माग सम्बोधन गर्नु पर्ने अवस्था छ । उनका अनुसार अहिले गोपिगञ्जमा मुल गण्डक नहर पुल, सोमनी शाखाको दुई वटा पुल जीर्ण छन् । खैरहनी पुलदेखि पूर्वमा रहेको ड्रेनको पुल, प्रतापपुर गाउँदेखि पश्चिमको लगत्तै तीनवटा पुल रहेका छन् ।