© २०२३
बुटवल, २२ फागुन ।
बुटवल–१३ बेलबासमा अवस्थित बुटवल ग्लोरी इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुका ज्येष्ठ अभिभावकलाई विद्यालयले सम्मान गर्ने अभियानको थालनी गरेको छ । विद्यालयले ८० वर्षभन्दा माथिका ज्येष्ठ अभिभावकहरुलाई घर घरमै पुगेर सम्मान गरेको हो ।
बिहीबार बुटवल १३ बँदेलपोखरीका १०२ वर्षीय शोभु गिरीलाई विद्यालय व्यवस्थापन समिति तथा विद्यालयका शिक्षक शिक्षिकाहरुसहितको टोलीले घरमै पुगेर सम्मान गर्दै अभियानको थालनी गरेको हो । दोसल्ला ओढाउनुका साथै मायाको चिनो, कोसेलीसहित उनलाई विद्यालयले सम्मान गर्दा उनी र उनको परिवार हर्षविभोर भएका थिए । उनका पनाति, पनातिनीले विद्यालयको कक्षा १ र २ मा अध्ययन गरिरहेका छन् ।
समुदायप्रतिको हाम्रो दायित्वलाई बहन गर्दैैैैै बच्चाहरुका हजुरबा, हजुर आमाहरुलाई सम्मान गर्ने कार्यक्रम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमबहादुर हमालले बताए । उनले भने, “ज्येष्ठ नागरिकलाई हिंड्डुल गर्न समस्या हुने भएकोले घर घरमै पुगेर सम्मान गर्न लागिएको हो ।”

विद्यालयले संस्कारसहितको शिक्षालाई अगाडि बढाइरहेको सन्दर्भमा बालबालिकाहरुसँगै राखेर ज्येष्ठ अभिभावकलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिएको विद्यालयका प्राचार्य शंकरप्रसाद गौतमले बताए । “आफ्ना अग्रज बाबाआमा, हजुरबा, हजुरआमा, जिजुबुबा–आमाहरुलाई जहिले पनि आदरसत्कार र सम्मानसहित माया गर्नुपर्छ भन्ने कुरा अहिलेका बालबालिकाहरुलाई सिकाउन जरुरी छ”, उनले भन्नुभयो । यसैका लागि नै ‘ज्येष्ठ नागरिकसँग बुटवल ग्लोरी’ भन्दै सम्मान कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
बिहीबारदेखि सुरु भएको ज्येष्ठ अभिभावक सम्मान कार्यक्रम फागुन महिनाभर सञ्चालन गरिने विद्यालयले जनाएको छ । विद्यालयमा प्लेग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुने गरेको छ ।