© २०२३
नेपालगञ्ज, २२ फागुन ।
बाँकेको राप्ती सोनारी गाउँपालिका –३ की ३२ बर्षीया गिता चौधरीलाई अचेल थारु लेहङ्गा सिलाउन भ्याई नभ्याई छ । विवाहको सिजनसँगै थारु लेहङ्गाको माग अत्यधिक बढेकाले उनलाई खाना खान समेत फुर्सद छैन । उनी भन्छिन्, “राति २ बजे सुत्छु बिहान ४ बजे फेरि लेहङ्गा सिलाउन उठिहाल्छु ।” कामको चापले खाना पनि सधै हतारमै खाने गरेको उनी बताउँछिन् । “आरामको त कुरै छैन सँधै हतारमै खान्छु, कामको चापले कहिले त खाना खान पनि बिर्सिन्छु”–गिता भन्छिन्–“अन्य सिजनमा कुर्ता सुरवाल, ब्लाउज, पेटीकोट, मेक्सी, सिलाए पनि माघ फागुनमा थारु लेहङ्गा सिलाउने चटारो हुन्छ ।”
करिब १४ बर्ष पहिले एक बर्षे सिलाई कटाई तालिम सिकेर सिलाई ब्यवसाय अंगालेकी गिताले अहिले कोट बाहेक सबै थरीका लुगा सिलाउन सक्ने बताउँछिन् । उनी भन्छिन् –“सिलाउन त कोट बाहेक सबै सिलाउन आउँछ तर, विगत ३ बर्षदेखि बढी मात्रामा लेहङ्गा नै सिलाउने गरेको छु ।”
खासगरी दसैं, माघी पर्व र विवाहको सिजनमा थारु लेहङ्गाको माग बढी हुने गरेको उनको भनाई छ । थारु लेहङ्गा नेपालमा मात्र खपत नभएर जापानमा समेत पठाउने गरेको उनी बताउँछिन् । पछिल्लो समय अनलाइन सपिङले धेरै सहज भएको छ । उनी भन्छिन्, “टिकटक र फेसबुकमा देखेर बाँके लगायत बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत दाङ, कपिलबस्तु, नवलपरासीबाट पनि अर्डर आउने गर्छ, माग पु¥याउन भ्याइनभ्याई छ ।” माघी पर्वकै लागि कपिलवस्तुबाट एकैसाथ २६ वटा थारु लेहङ्गाको अर्डर आएपछि समय र जनशक्ति अभावका कारण अर्डर पूरा गर्न नसकेको उनी बताउँछिन् । “माघीपछि मात्र त्यो अर्डर पूरा गरेँ अझ अरु धेरै ठाउँको अर्डर अनुसार सिलाउने काम भइरहेको छ ।” अझ रोचक कुरा त के छ भने पछिल्लो समय थारु लेहङ्गाको अर्डर अन्य समुदायका महिलाले पनि गर्न थालेको उनले सुनाइन् । कल्चरल डान्सको लागि विभिन्न विद्यालयबाट पनि थारु लेहङ्गाको अर्डर आउने गरेको उनी बताउँछिन् ।

राप्ती सोनारी ४ बैजापुर चोकमा गिता टेलरिङ्ग सेन्टर सञ्चालन गरिरहेकी गिताले आफै तालिम दिएर हाल दुई जनालाई आफ्नै टेलरमा रोजगारी दिएकी छिन् । आफूसहित तीनजनाले थारु लेहङ्गा÷चोला सिलाएर पनि माग पु¥याउन धौ धौ परिरहेको उनी बताउँछिन् । “पसलमा सिलाउन राखेका दुईजना बहिनीहरु सिक्ने क्रममै रहेकोले आफैले बढी मेहनत गर्नु परिरहेको छ” – उनी भन्छिन् “आफू जत्तिकै रातदिन खटेर सिलाउन सक्ने भैदिएको भए अलि सहज हुने थियो ।” दसैं देखि फागुन सम्म मात्र थारु लेहङ्गा सिलाउने चाप बढी हुने गरेको गिता सुनाउँछिन् । उनले एउटा थारु लेहङ्गा÷चोलाको सेट ४ हजार देखि १० हजार सम्म मूल्यमा दिने गर्छिन् । उनी भन्छिन्, “लेहङ्गाको गुणस्तर अनुसार साना नानीहरुले लगाउने ४ हजार र ठूलो लेहङ्गा १० हजार सम्म जान्छ ।” उनी अगाडि थप्छिन्, “थारु लेहङ्गाको सिजनमा सबै खर्च कटाएर मासिक डेढ लाख सम्म कमाइ हुन्छ ।” मेहनत अनुसारको आम्दानी हुँदा अझ धेरै मेहनत गर्ने जाँगर चल्ने गरेको उनको अनुभव छ । एउटा लेहङ्गामा कपडा, लेस, झुम्का लगायतका तीनहजारको सामग्री लाग्ने गरेको र लेहङ्गाको पूरा सेट बनाउन दुई देखि तीनदिन सम्म समय खर्चनुपर्ने गिता बताउँछिन् । मेहनत धेरै लागे पनि लेहङ्गामै फाइदा रहेको उनको भनाइ छ ।
सिलाई ब्यावसायसँगै उनले धेरै महिलाहरुलाई तालिम पनि दिँदै आएकी छिन् । उनको टेलरिङ्ग सेन्टरमा सिलाई सिक्ने महिलाहरु आईराख्छन् । हाल सम्म एक सयको हाराहारीमा महिला दिदिबहिनीहरुलाई तालिम दिएको उनी बताउँछिन् । “कतिलाई तालिम दिएँ भन्ने यकिन छैन, विभिन्न संघ संस्थाबाट गाउँपालिकाको विभिन्न वडा र आफ्नै पसलमा सायद सैयौं महिलालाई तालिम दिईसकेँ ।” आफैले तालिम दिएका करिब १५ जना महिलाहरु राप्ती सोनारीका विभिन्न स्थानमा सिलाई ब्यवसाय गरिरहेको उनी बताउँछिन् ।