© २०२३
कालीकोट ।
यहाँको खाँडाचक्र नगरपालिका चार महिना देखि प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको छ । नगरपालिकाका मेयर कमलबहादुर शाहीको एकल निर्णयले गत कार्तिक १४ गते निमित्त प्रमुख प्रशासकीय अधिकृत रहेका प्रवलजंग शाही लाई हटाई नगरपालिकाको प्रशासन शाखामा कार्यरत अधिकृत छैंठौं तहका अविराज शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएपछि नगरपालिका बिबादित बन्दै गएको छ ।मेयर शाहीले मन्त्रालयले कर्मचारी पठाउन नसकेको आरोप लगाएका छन्। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर ११ गते अविराज शाहीलाई जिम्मेवारीबाट हटाइएपछि नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको हो ।
नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएपछि जनताका दैनिक कामकाजका साथै भुक्तानी सम्बन्धी कुनै पनि काम हुन सकेका छैनन् । कर्मचारी तलव भत्ता, बाल पोषण, बृद्धभत्ता, योजनाको भुक्तानी तथा दैनिक कार्यालयको खर्च समेत भुक्तानी हुन सकेको छैन ।
सरकारले आर्थिक वर्ष २०८१/८२ को साउनदेखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नराख्ने निर्णय गरेको थियो । स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हुँदा भ्रष्टाचार मौलाउँदै गएको, बेरुजु बढेको, विकास निर्माणका काममा ढिलासुस्ती भएको, सेवा प्रवाह र सुशासन कमजोर बनेको लगायतका अनियमितताका समस्या बढ्दै गएको गुनासो आउन थालेपछि सरकारले निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्यलाई निरुत्साहित गर्न निर्णय गरेको हो ।