Butwal Today

पर्यटन मार्गको असावधानीले औद्योगिक क्षेत्र डुब्ने डर!

२१ फाल्गुन २०८१, बुधबार
अ+
अ-

नवलपरासी, २१ फागुन।

विश्व बैंकको सहयोगमा निर्माणाधीन रामग्रामका पर्यटन मार्गका कारण औद्योगिक क्षेत्रका दर्जनौँ उद्योग डुबानमा पर्ने चुनौती बढ्दै गएको औद्योगिक क्षेत्रका उद्योगले जनाएका छन्। उद्योग बाणिज्य संघ नवलपरासीको नेतृत्वमा औद्योगिक क्षेत्रको समस्या, चुनौती र समाधानका उपायबारे सुझाव संकलन गर्ने अभियानमा औद्योगिक क्षेत्रका सञ्चालकहरूले गुनासो राखेका हुन्।

संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ता तथा पत्रकार महासंघका सहसचिव सद्दा हुसेन अंसारी सहितको टोली औद्योगिक क्षेत्रमा सुझाव परामर्श गर्न पुगेपछि उद्योगीहरूले उक्त समस्या पहिलो भएको बताएका थिए। पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानीय बस्ती र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए। नालीलाई देखाउँदै रोस्लान भोड्का उद्योगका एक कर्मचारीले भने, उद्योग परिसरका पानी अहिले नै पम्पिग सेटले उक्त नालीमा फाल्न परेको छ। वर्षायामका पानीले हाम्रो उद्योगलाई नै डुबाउने छ। यसले सडक अग्लो बनाउँदा सबै औद्योगिक क्षेत्र डुबानको चपेटामा पर्नेछ। डुबान सडकले हुँदै आएको छ, उनले थपे, तर किसानको बाली डुब्दा उद्योगले क्षतिपूर्ति व्यहोर्न परेको छ। सरकारसँग सुरक्षा माग्दा उल्टै उद्योगहरू डुबानमा पर्ने गरी संरचना निर्माण हुँदैछ।

उद्योगीहरूको समस्या जायज नै रहेको बताउँदै यसबारे आफूसँग संघको साझा धारणा बनाई सरोकारवाला निकायमा पठाउने उद्योग उपाध्यक्ष पाण्डेले बताएका थिए। सडक र नाली अग्लो भए यस क्षेत्रको जलनिकास कसरी गर्ने भन्ने बारे रामग्राम नगरपालिका र अन्य प्रदेश तथा संघीय सरकारका सरोकारवाला कार्यालयसँग राखिने उनको भनाइ थियो। छिट्टै नै औद्योगिक क्षेत्रमा सरोकारवालाहरूको सामूहिक छलफल गरेर निकासका लागि पहल गरिने बाणिज्य उपाध्यक्ष गुप्ताले बताएका थिए। उद्योग बाणिज्य संघले पहिलो पटक यसरी उद्योगी व्यवसायीको समस्या बुझ्ने अभियान चलाएको छ।

एक्लाएक्लै उद्योगीले समस्या उठाउँदा सुनुवाई नहुने र विभिन्न क्षेत्रबाट उद्योग प्रति नकारात्मक धारणा राखिने हुँदा पनि औद्योगिक क्षेत्रको वास्तविक समस्या समाधान गर्न चुनौती रहेको छ। उद्योगको यो मात्र समस्या छैन, उद्योगको बीच सामान्यजस्यता नहुँदा पनि समस्याहरू छन्। यसका लागि उद्योगका साझा मञ्च बनाउन आवश्यक रहेको उपाध्यक्ष गुप्ताले औल्याएका थिए। उनका अनुसार उक्त औद्योगिक क्षेत्रमा चार दर्जन भन्दा बढी उद्योगको ३० अर्ब भन्दा बढी लगानीका उद्योगहरू रहेका छन्। पहिले उद्योग स्थापना भयो, उनले थपे, अहिले सडक ढिलो बन्दै गर्दा सडक भन्दा होचो अवस्थामा उद्योग हुन्छ, डुबान निश्चित नै छ।

उद्योगी व्यवसायी मात्र नभई स्थानीयले पनि सडकले सिर्जना हुने समस्याबारे चिन्ता व्यक्त गर्दै आएका छन्। नाम विश्व बैंकको लगानी काम भन्ने जोडजाम गरेर गरिने कार्य जस्तै देखिएको छ, एक स्थानीयले सडकमा हुँदै गरेको सबबेसमा कति मात्रामा गिट्टि? कति मात्रामा माटो मिसिएको छ? कसैलाई थाहा छैन। सम्बन्धित प्राविधिक र अनुगमन निकाय पनि ठेकेदारले भित्र दबाइ सके (थ्रेस) पछि आउँछन्। एक दुई स्थानमा खनखुद पारेर औपचारिकता पुरा गर्छन्। जसले गर्दा सडक कमसल सडक हुन्छ। दुई चार वर्षपछि सडक भत्किन थालेपछि कमसल सामग्री प्रयोग भएको कुरा खुल्न थाल्छ, जुन बेला ठेकेदारले सबै भुक्तानी लिइसकेको हुन्छ। उक्त सडक औद्योगिक क्षेत्रको बीचबाटै गएको हुँदा उद्योगमा आउने भारी सवारीसाधनको भार वहन गर्न सक्छ कि सक्दैन? भन्ने प्रश्न उठ्न थालेको छ।

नेपाल शहरी सुशासन तथा पूर्वाधार परियोजनाको नाममा पोखरापालीदेखि पण्डितपुर सडक स्तरोन्नती गर्न साढे पाँच किलोमिटर सडक निर्माणका लागि आशिस आशिर्वाद जेभि त्रियुगा ७ उदयपुरले निर्माण ठेक्का लिएको छ। तर काम कसले गराइरहेकोबारे सूचना स्थानीय स्तरमा छैन। पेटी ठेकेदारले काम गरेको छ, कि सम्झौता गर्ने फर्मले त्यसको समेत स्थानीयस्तरमा जानकारी हुनुपर्ने हो, तर नगरपालिकाले सो सूचना स्थानीयस्तरमा गराएको छैन। कुल ४१ करोड ८६ लाख २१ हजार ९ सय २६ रुपैयाँ भ्याट र पिएस सहितको रकममा सम्झौता भएको छ। ४ अक्टोबर २०२३ मा सम्झौता भई ४ अप्रिल २०२५ सम्ममा सम्पन्न गर्नु पर्ने हो, तर म्याद भित्रै काम सम्पन्न हुने अवस्था छैन।

वर्षौंदेखि ओझेलमा रहेको प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) र रामग्राम स्तुपा जोड्ने मार्ग प्रति विश्वबैंकको टोलीले स्थलगत अध्ययन गरेर परियोजनाको निर्माण गराएको थियो। सो स्थान जोड्न पर्यटन मार्गको रूपमा निर्माण गर्ने गरी ६२ करोडको सडक पूर्वाधार प्रोजेक्ट बनाई विगत वर्षदेखि नै सामाजिक तथा वातावरणीय पक्षको स्थलगत अध्ययन गरिएको थियो। पछि ठेकेकाले सम्बन्धित ठेकेदारले १८ करोड घटेर ठेक्का लिएको देखिन्छ। घटेर ठेक्का लिने र अनुगमनकारी निकायलाई दबाब र प्रभावमा पारी कमसल काम गर्ने आम ठेकेदारको प्रवृत्ति नै बनिसकेको छ। सरकार वा दातृ निकायले पूरा रकम दिँदा किन ठेकेदारले घटेर लिन्छन्? कि वास्तविक रूपमा प्राविधिकहरूले नै ओभर स्टिमेट गर्ने गर्छन्?

पोखरापालीदेखि सुक्रौली औद्योगिक क्षेत्र हुँदै घिनहा, कुईया, पण्डितपुर, दशकट्ठा हुँदै रूपन्देही जोड्नेछ। विश्व बैंकको सहयोगमा बन्ने उक्त सडक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नै बन्ने हुँदा नगरपालिकाकै लागि एक उदाहरणीय नमुना सडक पूर्वाधारको रूपमा बन्ने बताइएको थियो, तर अहिले काममा ठगी हुने गरेको स्थानीयको आरोप रहेको छ। सडकले स्थानीयको जीवनस्तरलाई उकास्ने मात्र नभई विश्व सम्पदा सूचीको पाइपलाइनमा रहेको रामग्राम स्तुपा र पुरातात्त्विक महत्व बोकेको प्राचीन कोलिय गणराज्यको राजधानी पण्डितपुर पनि विश्व सम्पदा सूचीमा पर्ने स्थान हो। यो विश्व सम्पदामा पर्ने हुँदा विश्व बैंकको चासो पनि बढेको थियो। सडकको गुणस्तर जाँचका लागि विश्व बैंककै कन्सल्टेन्सीले नै जिम्मा लिएको रामग्राम नगरपालिकाका इन्जिनियर महेश्वर ठाकुरले बताएका थिए।