© २०२३
दाङ,२१ फागुन ।
पछिल्लो समय सहकारीमा समस्या रहेका खबर आइरहेको समयमा दाङमा रहेको एक सहकारीले आफ्ना सदस्यहरुसंग नियमित छलफल गर्ने गरेको छ । घोराही उपमहानगरपालिका– ६गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि ले आफ्ना सदस्यहरुलाई सहकारीले गरेका काम र कारोबारको बारेमा जानकारी दिने गरेको छ । २०६२ सालमा १५ जनाको समूहबाट स्थापना भएको सहकारीमा अहिले १५ सय भन्दा बढी सदस्य संख्या रहेको र २० करोड भन्दा बढि पुँजी रहेको छ ।
सहकारीका व्यवस्थापक मधुसुदन पौडेलले सरकारीमा आर्थिक पारदर्शिता रहेको बताए । सहकारीको नीति र विधिअनुसार अगाडि बढेको र कुनैपनि काम गर्दा कार्यसमितिले निर्णय गरेको काम मात्रै गर्ने गरेको उनले बताए । सहकारीका सदस्यले नियमित बचत गर्ने र ऋण लगेर सदस्यले आयमुलक काम गर्ने गरेको बताए । समयमा बचत गर्ने,ऋण लगेका सदस्यले समयमा व्याज बुझाउने र तोकिएको समयमा सावा रकम बुझाउने गरेको उनले बताए । समयमा बचत गर्ने र ऋण लगेका र समयमा व्याज बुझाउने सदस्यलाई बार्षिक साधारण सभामा उत्कृठ कार्य गरेको आधारमा सम्मान गर्ने गरेको बताए ।
सहकारीका अध्यक्ष शरदकुमार आचार्यले सहकारीले गरेका कामको बारेमा जानकारी दिनकालागि घुम्ती शिबिरको आयोजना गरेर सहकारी शिक्षा दिने गरेको बताए । सहकारीले सामाजिक सूरक्षा कोष अन्तर्गतका काम गर्ने गरेको छ, सदस्यको मृत्यु भएमा किरिया खर्च बापत सात हजार दिने गरेको छ । बिभिन्न धार्मिक स्थल र कार्यमा दान तथा सहयोग गर्ने गरेको छ । बालबचत, मासिक बचत, अनिबार्य बचत, ऐच्छिक बचत, पेन्सन बचत, आबधिक बचतहरु गर्ने गरेको छ । सहकारीका सदस्यलाई पेसा,व्यवसाय र उद्यमशिलताका थप उत्साह र सहयोग पुगोस भन्ने उद्धेश्यले देशमा बिभिन्न सफल र उद्यम र व्यवसायको अवलोकन तथा अध्ययन गर्ने अबसर मिलाएको उनले बताए ।
सहकारीका ज्येष्ठ सदस्यलाई सम्मान गर्ने उद्धेश्यले सहकारीमा आबद्ध ज्येष्ठ सदस्यलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रम गरेको छ । प्रत्येक महिनामा कार्यसमितिको बैठक बसेर समिक्षा गर्ने गरेको छ । सहकारीको शिक्षा उपसमितिले सदस्यहरुलाई सहकारी शिक्षा कार्यक्रम नियमित गर्ने गरेको उनले बताए । सहकारीमा आर्थिक पारदर्शिता नै सदस्यले बिश्वास गर्ने आधार रहेको उनले बताए । घोराही उपमहानगरपालिका ४७ औं स्थापना दिवसका अवसरमा यही माघ १५ गते पालिकाभित्रको उत्कृठ सहकारीका रुपमा सम्मान पाएको पनि उनले जानकारी दिए ।