© २०२३
सुर्खेत, २१ फागुन ।
कर्णाली प्रदेशको राजधानी भएयता वीरेनद्रनगरमा रहेको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीका लागि बेलाबेला चर्चा हुँदै आएको छ । विमानस्थल विस्तारको चर्चासँगै विवादको कारण काम अघि बढ्न सकेको छैन । जसका कारण विमानस्थल विस्तारको काम स्थगित हुँदै आएको छ । आम निर्वाचनका बेलामा सम्पूर्ण उम्मेदवारहरुले प्रमुख मुद्दा समेत बनाउँदै आएका छन् । विशेषगरी यो बेला राजनीतिक मुद्दा समेत बन्ने गरेको छ ।
यसरी लामो समयदेखि विवाद र स्थगित हुँदै आएको सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीको काम पुनःअघि बढ्ने भएको छ । विमानस्थल विस्तारका लागि संघीय सरकारले नीतिगत निर्णय समेत गरेपछि काम अघि बढ्ने भएको हो । विमानस्थल विस्तारको लागि स्रोत सुनिश्चितता गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेको छ ।
फागुन १५ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहणमा लाग्ने चार अर्ब ९० करोड बजेटको व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ । जग्गा अधिग्रण सहित समग्र विमानस्थल विस्तारका लागि १० अर्ब रुपियाँ लाग्ने अनुमान गरिएको छ । सबैभन्दा पहिला जग्गा अधिग्रहण र विद्यालय स्थानान्तरणको कामलाई प्राथमिकता दिइएको छ । उक्त क्षेत्रमा अमरज्योती माध्यमिक विद्यालय पनि रहेले उक्त विद्यालयलाई पहिला स्थानान्तरण गर्नुपर्ने देखिन्छ ।
चालु आर्थिक वर्ष सरकारले विमानस्थलको लागि १० करोड विनियोजन गरेको छ । यही वर्षभित्रै कार्यान्वयनमा लैजाने गरि चार अर्ब ९० करोड रकम सुनिश्चित गरिदिन नागरिक उड्डयन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
२०७७ सालमा कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सुर्खेत विमानस्थलको विस्तार तथा स्तरोन्नती गर्नका लागि समझदारी भएको थियो । समझदारीपछि काम सुरुवात गर्दै गर्दा विवाद भएपछि विस्तारको काम स्थगित भएको थियो । विवादको कारण प्रदेश तथा संघ सरकारले विमानस्थलका लागि छुट्याएको बजेट पनि फ्रिज हुँदै आएको थियो ।