Butwal Today

कर्णालीबाट एसईईमा ३७ हजार सात सय विद्यार्थी सहभागी हुँदै

२१ फाल्गुन २०८१, बुधबार
अ+
अ-

सुर्खेत,२१ फागुन ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा यस वर्ष कर्णाली प्रदेशबाट ३७ हजार नौ सय ११ विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास निर्देशनालय सुर्खेतका अनुसार नियमिततर्फ ३१ हजार आठ सय चार, ग्रेडवृद्धितर्फ ६ हजार एक सय सात र प्राविधिकतर्फ तीन सय ४२ विद्यार्थी सहभागी हुँदैछन् ।

निर्देशनालयका निर्देशक दीपा हमालले प्रदेशका १० जिल्लामध्ये सुर्खेतबाट सबैभन्दा बढी विद्यार्थी सहभागी हुँने बताइन् । सुर्खेतबाट नौ हजार पाँच सय १३ विद्यार्थी परीक्षामा सहभागी हुन लागेको हमालले बताइन् ।गएको वर्ष भन्दा यस वर्ष प्रदेशमा झण्डै दुई हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । गएको वर्ष कुल ३५ हजार आठ सय आठ विद्यार्थी एसईईमा सहभागी भएका थिए ।

प्रदेशमा यस वर्ष एसईई सञ्चालन गर्न एक करोड ३९ लाख ३० हजार पाँच सय पाँच रुपियाँ खर्च हुने निर्देशनालयले जनाएकोे छ । यस वर्ष एसईईको लागि एक सय ८० परीक्षा केन्द्र तोकिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार एसईई परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु जिल्ला—जिल्ला पठाइएको छ ।