© २०२३
गुल्मी, २१ फागुन ।
समाजमा एउटा उक्ति छ ‘‘जहाँ होँचो त्यँहि घोँचो’ यो उक्ति यतिबेला गुल्मी धुर्कोट गाउँपालिका –१ नयाँगाउँ मैदान निवासी ६५ बर्षीया आशादेवी दर्जीको जीवनसँग मेल खाएको छ । बिगत १५/२० बर्षदेखि उच्च रक्तचापको समस्या झेल्दै आएकी दर्जीले नियमित रूपमा औषधीको भरमा बसेकी थिईन । पछि उनलाई बिस्तारै खाना मिठो नहुने र हातखुट्टा सुन्निने समस्या देखिन थालेपछि गुल्मी अस्पताल तम्घासमा स्वास्थ्य परिक्षण गर्दा उनको दुवै मृगौला फेल भएको पत्ता लाग्यो ।
आर्थिक अवस्था अत्यन्तै कमजोर बनेकी आशादेवी ०७९ सालदेखि मृगौला पीडित छन् । मृगौला प्रत्यारोपणको संभावना थिएन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा २ बर्षसम्म डाइलासिस गरिएको उनका छोरा राजुले बताए । पछिल्लो एक बर्षदेखि तम्घासमा तीनदिन शुक्रबार, आइतबार बुधबार डाइलासिस हुन्छ । पछि पायल्सको समस्या बल्झियो । ‘जहाँ होँचो त्यँहि घोँचो’ भन्ने नेपाली उखान जस्तै आशादेविलाई दुई महिनादेखि क्यान्सर समेत थपिएको छ । राजुले गाउँबाट आउ–जाउ सम्भव नभएपछि सदरमुकामै कोठा भाडामा लिएर आमालाई डाइलासिस गर्दै आएका छन् । ‘आमालाई अक्सिजन बिना राख्न सकिदैन, सातामा तीन दिन घरबाट अस्पताल पुग्न अप्ठ्यारो बन्यो,’ दर्जीले भने,‘कोठा भाडामा खोजेर अक्सिजनसहित उपचार गरिरहेको छु ।’ दलित विपन्न परिवारमा चोटमाथि चोट परिरहेको छ । राजुका दाजुको केही समय पहिले भारतमा मृत्यु भयो । बुबा बितेका आठ बर्ष भए । होटलमा काम गरेर परिवारको जोहो गरेका आफू आमाको कारण काममा फर्किन पाएनन् । जीवनभर कमाएको करिब २० लाख आमाको उपचारमा सकिएपछि ओठमुख सुकेको राजुले गुनासो गरे ।
अहिले पनि मासिक १५ देखि २० हजार आमाको उपचार खर्च छ । गाउँको बारीले ६ महिना खान पुग्दैन । आमालाई फर्काएर घर लैजान पनि राजुको मनले मान्दैन् । तर, उपचार र परिवार व्यवस्थापनको उपाय सवै बन्द हुँदै गए । ‘आमालाई रोगमाथि रोग बल्झिएपछि तातो दुध निल्नु न उकेल्नु भइरहेको छ । उपचार गर्ने उपायहरू सवै बन्द हुँदै गए,’ उनले भने,‘उपचारमा सम्पती सकिएपनि बचाउने आशा अझै मरिरहेको छैन ।’ उनले सबैसंग सहयोगको याचना गरे ।
आफ्नो कमाई आमाको उपचारमा सकेका राजुले बाँचुञ्जेल उपचार गर्नुपर्ने भएकाले औषधी किन्न पनि निकै समस्या परेको बताए । सहयोगको लागि लक्ष्मी सनराईज बैंकमा पीडित आशा देवी दर्जीको खाता नं ११२१३७५७४९२०५००१ मा सहयोग गर्न सकिने बताईएको छ ।