© २०२३
काठमाडौँ ।
जारी च्याम्पियन्स ट्रफी अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदै छ। पहिलो सेमिफाइनलमा भारत र अस्ट्रेलिया बीच प्रतिस्पर्धा हुनेछ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने यो खेलमा अस्ट्रेलियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ। अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन्। यस निर्णयसँगै भारतले पहिला बलिङ गर्ने छ।
भारत समूह ए को विजेताको रूपमा सेमिफाइनल खेल्दै छ भने अस्ट्रेलिया समूह बी को उपविजेताको रूपमा सेमिफाइनल खेल्न लागेको हो। प्रतियोगितामा दुवै टोली अपराजित रहेका छन्।आइसीसी प्रतियोगितामा भारतमाथि अस्ट्रेलिया प्रायः हावी हुदै आएको छ। २०२३ मा भारत आफ्नै घरेलु मैदानमा एकदिवसीय विश्वकपको फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो। अब यस सेमिफाइनलमा भारतलाई अस्ट्रेलियासँग बदला लिने अवसर प्राप्त भएको छ।
भारत र अस्ट्रेलियाबीच एकदिवसीय क्रिकेटमा हेड टु हेडको कुरा गर्दा, दुवैबीच अहिलेसम्म १५१ खेल भएका छन्। जसमा अस्ट्रेलियाले ८४ खेल जितेको छ भने भारतले ५७ खेल जितेको छ। त्यस्तै १० खेलको कुनै नतिजा आएको छैन।त्यस्तै, दोस्रो सेमिफाइनल खेल न्यूजील्याण्ड र दक्षिण अफ्रिकाबीच बुधबार पाकिस्तानको लाहोरमा हुनेछ। आइसीसी च्याम्पियन्स ट्रफीको फाइनल खेल आगामी आइतबार हुनेछ।