कैलाली ।
पूर्वप्रधानमन्त्री र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो परिमाणमा कारोबार हुने सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक भएको बताएका छन्।कैलालीमा नेपाल सुनचाँदी व्यवसायी महासंघको १२औं स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।‘मैले प्रधानमन्त्रीको रुपमा यो व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर छलफल चलाउन सुरु गरेको थिएँ, छुट्टै ऐनविना यति ठूलो व्यवसायलाई व्यवस्थित गर्न सकिदैन,’ प्रचण्डले भने, ‘यसबारेमा धेरै पहिलेदेखि देशभरिका व्यवसायले आवाज उठाउँदै आउनुभएको छ, यो माग जायज छ।’

उनले सुनचाँदीको थोक कारोबार काठमाडौंमा मात्र केन्द्रित रहेकोमा कम्तीमा प्रदेश राजधानीसम्म यसलाई विस्तार गर्नुपर्ने व्यवसायीको माग जायज रहेको बताउँदै यसका लागि पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले यसमा मदिराजस्तो विलासिता कर लगाउने कानुनी व्यवस्था सही नभएको र यसलाई हटाउन कानुन आवश्यक रहेको पनि स्पष्ट गरे।
आफू प्रधानमन्त्री हुँदा सुनचाँदीको परम्परागत व्यवसायलाई प्रवर्धन गर्न नीति र बजेटमा समावेश गरिएको जानकारी दिँदै अध्यक्ष प्रचण्डले यसको कार्यान्वयनका लागि व्यवसायीहरूले आवाज उठाउन आवश्यक रहेको पनि बताए। उनले आफ्नो पार्टीले यसलाई सहयोग गर्ने प्रतिबद्धता जनाए।



