© 2026
मुगु ।
नेपालका प्रमुख पर्यटकीयस्थल रारा ताल घुम्न आएका एक जना आन्तरिक पर्यटकको मृत्यु भएको छ। काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका ५४ वर्षका भुवन विश्वकर्मा आज बिहान लेक लागेर मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए।
जिल्ला अस्पताल मुगुका चिकित्सक नकुल शाहीका अनुसार, विश्वकर्मा आइतबार राति ९ बजे श्वास फेर्न समस्या भइ चेकजाँच गर्न जिल्ला अस्पताल पुगेका थिए। चेकजाँचपछि शरीरमा अक्सिजनको कमी देखिएको थियो। अस्पतालले उनलाई आज रात अस्पताल भर्ना हुन भने पनि उनले नमानेको चिकित्सक शाहीले बताए। त्यसपछि, उनी सल्लेरी फर्किएका थिए, तर सोमबार बिहान ६ बजेतिर साथीहरूले उनलाई एम्बुलेन्समा अस्पताल ल्याए, जहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो।
चिकित्सक शाहीका अनुसार, भुवन विश्वकर्माको मोटोपन थियो। उच्च हिमाली भूभागमा चिसो मौसम र हिमपातको समयमा अक्सिजनको कमीका कारण लेक लागेर कार्डियोक प्रिमोनरी एरेस्ट भएको बताइएको छ, जसको कारण उनको मृत्यु भएको हो।