© २०२३
बुटवल, १८ फागुन
यातायात मजदुरहरुको हकहित संरक्षण गर्दै सवारी दुर्घटना न्यूनिकरण गर्ने र चालक—सहचालकलाई स्वरोजगार समेत बनाउने उद्देश्यका साथ आयोजित दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पछिल्लो समय सवारी दुर्घटना बढिरहेको भन्दै पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.ले सवारी चालक तथा परिचालकहरूलाई प्रशिक्षण कार्यक्रम गरेको हो । प्रशिक्षणले यातायात मजदुरहरुलाई सहकारीमा आवद्ध गराई उनीहरुको र परिवारको हकहित संरक्षण, बढ्दो सवारी दुर्घटना न्यूनिकरण र यातायात मजदुरलाई स्वरोजगार, आत्मनिर्भर र सवारी धनी बनाउन मद्दत मिल्ने बिश्वास गरिएको छ ।
सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको सो प्रशिक्षणले यातायात मजदुरहरुलाई स्वरोजगार बनाई क्रमशः सवारी धनी बनाउने लक्ष्य रहेको बताइएको छ । सडक प्रयोगकर्ता यात्रु, सवारी साधनको अवस्था, भौगोलिक तथा सडकको अवस्था, छाडा चौपाया, मौसमको गडबडी लगायत सवारी दुर्घटनाका धेरै कारण हुने भएपनि चाबी चालकको हातमा हुने भएकोले जिम्मेवारी पनि चालककै धेरै हुने प्रशिक्षकहरुले बताएका छन् । सवारी धनी, यात्रु र चालकलाई सवारी सहजीकरण, यात्रुमैत्री र सुरक्षित यात्राका लागि सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको सुझाव दिदै दुर्घटना न्यूनिकरणमा चालक, परिचालक र सहचालकको भूमिका महत्वपूर्ण हुने उनीहरुले बताए ।
कार्यक्रममा प्रमुख प्रशिक्षक प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले अधिकांश सवारी दुर्घटना लापरवाहीकै कारण हुने गरेको बताए । चालक, सहचालक, पैदल यात्रु प्रहरी प्रशासन लगायत नियमनकारी निकाय, सरकार सबै सरोकारवाला पक्ष गम्भिर भएमा सवारी दुर्घटना न्यूनिकरण हुने दावी गर्दै प्रनाउ न्यौपानेले हरेक दुर्घटनाको पछाडी कसै न कसैको लापरवाही हुने गरेको बताए । पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले धार्मिक कार्य, जन्म र मृत्युपछिको दाहसंस्कारको लागि समेत सवारी चालकको भरमा यात्रा गर्नुपर्ने भएकोले पेशालाई सम्मानित बनाइरहने दायित्व चालकहरूको हातमा रहेको बताए । मानव जिवनसँग प्रत्यक्ष जोडिएको पेशा भएकोले थप जिम्मेवार र गम्भीर हुनुपर्ने कुरामा अध्यक्ष खरेलले जोड दिएका छन् ।
अध्यक्ष खरेलले प्रा.लि.ले चालक तथा मजदुरहरूको श्रमको सम्मान गर्ने सवालमा कुनै पनि कसर बाँकी नराख्ने भन्दै चालकहरूकै आर्थिक सुरक्षाको लागि दुर्घटना बीमासँगै जीवन बीमाको योजना अगाडि सारिएको बताए । प्रालिले आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समिति गठन गरी २०६६ सालदेखि नियमित रूपमा चालक सहचालक केन्द्रित प्रशिक्षण सञ्चालन गर्दै आएको उनले बताए । आन्तरिक सवारी व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण समितिका संयोजक नारायण प्रसाद घिमिरेले १५ वर्षसम्म नियमित प्रशिक्षण सञ्चालन गर्दै आईरहेको बताए । निरन्तर प्रशिक्षणका कारण प्रालिमा आबद्ध सवारी साधनहरूको दुर्घटना २५ प्रतिशतले न्यूनीकरण भएको उल्लेख गर्दै घिमिरेले यो अवधिमा ८ हजार ५ सय भन्दा बढी चालक तथा परिचालकलाई प्रशिक्षण दिइएको दाबी गरे । घिमिरेले प्रालिमा बोलाएर दिइने यसप्रकारको प्रशिक्षण सामान्य मानिए पनि यातायात मजदुरको हकहित संरक्षण र दुर्घटना न्यूनिकरणमा महत्वपूर्ण भूमिका रहेको बताए ।
प्रा.लि.का सञ्चालक नारायण भण्डारीले यसप्रकारको सिकाइ निरन्तर हुने तर्क दिँदै स्वरोजगार चालक वा सवारी धनी बन्न प्रशिक्षण फाइदाजनक भएको बताए । भण्डारीका अनुसार रुपान्तरित प्रालिमा हाल २ हजार २ सय बस करिब ७ हजार चालक, परिचालक तथा सहचालकहरु आवद्ध छन् । प्रा.लि.मा आवद्ध सवारी धनी, चालक, परिचालक, सहचालकहरुलाई सहकारीमा पनि आवद्ध गराई सहकारी मार्फत २२ लाखसम्मको बिमा रकमको ब्यवस्था गरिएको छ । यसबाट उनीहरुको परिवारको पालनपोषण र हकहित संरक्षणमा टेवा पुग्ने बिश्वास गरिएको छ ।