© २०२३
म कहिलेकाँही आफैमा घोत्लिन्छु । ‘थरीथरीका मानव थरीथरीका स्वभाव । जति मानव उति स्वभाव ।’ एक मानवसंग अर्को मानवको स्वभाव मिल्दैन । मिल्छ त केवल एउटै स्वार्थमा मात्र । जब स्वार्थ एउटै हुन्छ तव स्वभाव मिल्छ । यो होइन भन्ने वा गलत विचार भन्ने सायद कोही छैन । तर यसका निम्ति पनि पहिले आफै घोत्लिनुपर्दछ । हल्का सोंचाइले यसको रहस्य जान्न या बुझ्न सकिदैन् । हामी हरदम अरूलाई बुझ्ने प्रयास गरिरहेका हुन्छौं । अरूको वारेमा जान्न अति इच्छुक समेत हुन्छौं । आफूले अरूलाई बुझ्नु भन्दा पहिले आफूले आफूलाई बुझ्ने प्रयास गर्नु पर्दछ भन्ने जान्दैनौं । यो दुनियाँका अत्यधिक मानिसहरू स्वभावले फरक छन् साथमा आफूलाई आफै बुझ्ने प्रयास नै गरेका छैनन् । प्रयास गरुन पनि कसरी ? अरूलाई बुझ्नु भन्दा पहिले आफूले आफूलाई बुझ्न जरुरी छ भन्ने नै उनीहरूलाई लागेको छैन वा त्यसको वारेमा ज्ञान छैन । अरूको वारेमा कुरा काटेर नथाक्नेहरू त झन आफूलाई बुझ्नु पर्छ भन्ने कुरा रतिभर जान्दै जान्दैनन् ।
आफूलाई बुझ्नका लागि आफ्नो नामले हुँदैन । नाम त शरीर चिनाउनका लागि हो । शरीर चिनाउने चिन्ह नै नाम हो । शरीरमा पनि विभिन्न भागहरू (अंगहरू) छन् । त्यो भित्र लुकेको छ चेतना । हो यही चेतनाले हिंडाउने खाने, बस्ने बोल्ने शरीरको नाम हो राम श्याम गीता सीता यस्तै यस्तै । त्यो रामको नामभित्र मानवभित्र हुनुपर्ने गुदी चेतना छ कि छैन ? श्याम र गीता भित्र एउटा मानवले अर्को मानवको सम्मान गर्नुपर्छ भन्ने भावना जागृत छ कि छैन । चेतना सबैमा हुन्छ तर सबैमा जागृत नभएको हुुनसक्छ । सुसुप्त पनि चेतना हो तर त्यो चेतनाले व्यवहारमा सकारात्मकता देखाउन सक्यो भने मात्र जागृत चेतना भन्ने बुझिन्छ । चेतन मनभित्र शिल, स्वभाव र सद्व्यवहार अन्तरनिहित रहेको हुन्छ । कुनैपनि मानवले हर समयमा त्यो दर्शाउन सक्यो भने मात्र सकारात्मक भावना भएको भन्न सकिन्छ । भावना पनि सकारात्मक र नकारात्मक दुई किसिमका हुन्छन् । सकारात्मक भावनाले मानव समस्या सहजै बुझ्न सक्छ । उ स्वार्थ भन्दा अलिक टाढा रहेको हुन्छ । नकारात्मक भावना भनेको “मै खाउँ मै लाउँ, अरू सब मरुन दुर्वलहरू” भन्ने नै हो । सारमा भन्नुपर्दा आफूलाई मात्र देख्नेहरू सकारात्मक भावनाभित्र पर्दैनन् । आज भोली सकारात्मक भावना राजनीति र राजनीतिक दलका नेताहरूमा खोज्ने गरिन्छ । किनकी उनीहरू आफूलाई जनसेवी भन्ने गर्छन । के उनीहरू व्यवहारबाट जनसेवी जस्ता देखिन्छन् ? उनीहरू भित्र सकारात्मक भावना जागृत भएको छ ? सबैलाई एउटै टोकरीमा राख्नुपनि सकारात्मक भावना होइन । रातोलाई रातो र कालोलाई कालो भनेर जान्नु आवश्यक छ । कालोको पहिचान वेग्लै हुन्छ भने सेतो र रातोको पहिचान वेग्लै हुन्छ । यसकारण जो संग जस्तो गुण या दोष छ त्यसै अनुसारबाट विश्लेषण गर्दछ । एउटा नागरिकले अर्को नाागरिकको काम व्यवहार हेरेको हुन्छ तर यो भन्दा बढ्ता नेतृत्व गर्नेहरूको काम व्यवहार र आचरण हेरेको हुन्छ । त्यही आचरणको कारणले गर्दा उसका विरुद्धमा नारा लगाउँछ । कालो झण्डा देखाउँछ । जुत्ता हान्छ । कहिले हातले झापड दिन्छ । यो दृश्य त हामीले केही पटक देखेका र सुनेका छौं । यसको चुरो कारण के हो ? भनेर कसैलाई प्रश्न गर्नैपर्दैन । यसको उत्तर आफै उसैसंग आउँछ । नैतिकता वा चरित्र, सकारात्मक काम व्यवहार आदि आदि यसको उदाहरण हो ।
हरेक मानिसलाई उचाइमा लैजाने र भूँईमा सुताउने कामकुरा उसको व्यवहारले गराउँछ । हुन त कहिलेकाँही यस्ता कुराहरू गलत प्रयोग भएको पनि सुन्न पाइन्छ । धेरैजसो सत्यमा आधारित हुन्छन् । तपाई समाजमा कति सम्मानित हुनुहुन्छ ? यसको प्रमाण समाजबाट तपाईले पाएको सद्भाव र सम्मानले दर्शाउँछ । आफूले मपाई भन्नेहरूको कमी त हामी कहाँ छैन तर वास्तविक मानिसको चरित्रको चित्रण अरूले गरिरहेको हुन्छ । यही सत्चरित्र निर्माणका निम्ति आफूले आत्म मूल्यांकन गर्ने, आत्मचिन्तन गर्ने, आफैभित्र कतै खोट भेटिए आफूले आफूलाई सुधार्ने प्रण गर्ने अनि आचरणमा सुधार ल्याउने गर्नुपर्दछ । यही आचरणले मानव र दानव चिनिन्छ । मानिसको शरीरको बनावट त उस्तै उस्तै हो । तर फरक भनेको त्यही आचरण मात्र हो । हरेक जीव जनावरबाट मानवलाई फरक देखाउने भनेको आचरण र चिन्तनले हो । यस्तै एक मानिस र अर्को मानिसको बीचमा फरक देखिने भनेको पनि आचरण र चिन्तनले हो । कस्तो चिन्तन गर्नु हुन्छ र कस्तो व्यवहार गर्नु हुन्छ ? यही कुराले हरेक मानिसलाई चिनाउँछ । जस्तो भनिन्छ नि फलानो त अति सहयोगी छ, मिलनसार छ वा अति मिलनसार छ, मृदुभाषि छ, यस्तै यस्तै विशेषण दिने गरिन्छ । यसको उल्टो पनि स्वभाव हुन्छ नि । यहाँहरूले यसको उल्टो स्वभावको वारेमा आफै जानकार हुनुहुन्छ, यहाँ उल्लेख गर्न जरुरी ठानिएन । सबैले देखेको जानेको र भोगेको कुरा हो । हरेक मनिसले सकारात्मक भावनाको चाहना गर्दछ । तर आफूले सकारात्मक भावना किन दर्शाउन सक्दैन ? यो मानवीय कमजोरी हो ? होइन व्यक्तिमा निहित स्वार्थीपना हो । त्यही स्वार्थीपनाले गर्दा उसको मनमा सकारात्मक भावना जागृत हुन सकेको हुँदैन । अनि उसले निच कर्ममात्र देख्छ र त्यही निचकर्ममात्र गर्दछ । निच कर्मबाट बाहिर आउन नसकेको आकारको मानवले कसरी सकारात्मक भावना दर्शाउन सक्छ ? यो त सम्भव नै हुँदैन । त्यसको निम्ति त उसको भित्र हृदयमा आफूलाई चिन्नका निम्ति आफूलाई आफै पढ्ने वातावरण बनाउनु पर्दछ । भनिन्छ– मानव शरीरभित्र एउटा सिंगो विश्वविद्यालय हुन्छ । जव एउटा विश्व विद्यालय आफैभित्र हुन्छ भने आफूलाई पढ्न किन सकिदैन । यो त आफ्नो कर्तव्य जानेकाहरूबाट देखिने व्यवहार हो ।
केही पंक्ति माथि राजनीतिको कुरालाई थोरै छुने प्रयास मात्र गरियो सबैको गुरु राजनीति हो । यही राजनीति गर्नेहरू सबैभन्दा पूज्य हुन जरुरी हुन्छ । हामीले आजसम्म देखेका सुनेका मध्ये केही त स्तुति गर्न लायकका पनि थिए र छन पनि तर पनि हामीले उनीहरूको कहिल्यै मान र सम्मान गर्न जानेनौं । उनीहरूलाई समय चिन्न नसकेका कारणले उनीहरूको जीवन रहेसम्म गालीको पोका पारेर राख्न चाह्यौं । यसले उनीहरूको त्याग बलिदान र कर्तव्यलाई बाहिर ल्याएर राख्न दिएन कि ? आज हामीले जसलाई महान त्यागी भनेर भन्ने गर्छौं जीवन छँदै त्यो भन्न सकेको भए के हुन्थ्यो ? उहाँहरूको मनले पनि आफ्नो मूल्यांकन गर्न सक्थ्यो होला । आत्मसन्तुष्टि लिन्थ्यो होला । सेतोलाई सेतो भन्न नसकेका कारणले हामीले हिंजो उहाँहरूको सम्मान गर्न सकेनौं । जीवनको अन्त्य पश्चात जति मान गरे पनि जति सम्मान गरे पनि त्यो निरर्थक जस्तै हो । यसकारण आत्म मूल्यांकन गरौँ । हर समय मानवीय गुण दर्शाउन सकौं । यसमा सबैको कल्याण हुने छ । एउटा सचेत मानव हुनुको नाताले आफू भित्रको चेतन मनलाई सकारात्मकतातिर लैजान सिकौं ।