© २०२३
दाङ ।
नेपालमा लोपउन्मुख कुसुन्डा समुदायको भाषा संरक्षणका लागि प्युठानमा कुसुन्डा भाषाको कक्षा संचालन हुन थालेको छ ।
सरुमारानी गाउँपालिकाको आर्थिक सहयोगमा देशभरका कुसुन्डाहरुलाई एकै थलोमा राखेर १५ दिनको भाषा प्रशिक्षण हुन थालेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झकबहादुर बिकले जानकारी दिए ।
नेपालभर रहेका कुसुन्डा समुदायका प्रत्येक घरका एक जनाका दरले उपस्थिति हुने उनले बताए । हरेक स्थानीय सरकारले भाषा संरक्षण सम्बन्धि कानुन बनाउनुपर्ने भएकाले कुसुन्डा भाषाको संरक्षण सम्बन्धि कानुन पारित गरेका छौ, सोही अनुसार काम अगाडि बढेका छौ, उनले भने । मानविय बिकास नै पहिलो बिकास हुने भएकाले लोपउन्मुख कुसुन्डा भाषालाई कुसुन्डा समुदायका नागरिकलाई भाषा, संस्कार र संकृतिका बारेमा जानकारी दिने उद्धेश्य रहेको बताए । प्युठानमा ६ घरधुरी रहेपनि लोपउन्मुख समुदायको संरक्षणमा सोही समुदाय नै सकृय भएमात्र सम्भव हुने भएकाले पालिकाले पहिलो प्रयास गरेको बताए ।
लोपउन्मुख समुदायको भाषा, संस्कार र संस्कृति संरक्षणका लागि पालिकास्तरबाट महत्व राखेर कार्यक्रम हुन थालेको कुसुन्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेले जानकारी दिए । लोप हुन थालेको भाषालाई संरक्षण गर्न सबैले चासो दिएमा भाषा जीवित हुने उनले बताए । यही फागुन १९ गतेबाट संचालन हुने १५ दिनको कक्षामा भाषा, संस्कार, रहनसहनका बारेमा जानकारी दिने बताए ।
कुसुुन्डा भाषाको पूर्ण बक्ता ज्ञानीमाया कुसुन्डामो मृत्यु भएपछि भाषा झनै संकटमा परेको छ । पुरानो पुस्ता जीवीत नहुने नयाँ पुस्ताले नवोल्ने हो भने भाषा लोप हुने उनको धारणा छ । नेपालभर रहेका प्रत्येक घरबाट एक जनालाई उपस्थिती गराएर एक आपसमा बोलचाल गर्दा कुसुन्डा भाषा प्रयोग गर्न सक्षम गराउने बताए । भाषा आयोगको सहयोगमा दाङमा २३ जना कुुसुन्डा युवाहरुले भाषा सिकिसकेका छन् । उनीहरु एक आपसमा कुसुन्डा भाषाको प्रयोग गर्ने गरेका छन् तर उनका परिवारमा कुसुन्डा भाषा प्रयोग भएको उनले बताए ।
नेपालको जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा जातिको कूल जनसंख्या पुरुष ११५ र महिला १३८ गरी कुल २५३ जना उल्लेख गरिएको छ । लुम्विनी प्रदेशको प्युठान जिल्लामा पुरुष १६ र महिला १५ गरी ३१ जना कुसुन्डा छन् भने दाङ जिल्लामा पुरुष १७ र महिला २७ गरी ४४ जना छन् । कुसुन्डाहरु गोरखा, तनहुँ, कपिलवस्तु, अर्घाखाँची, प्यूठान, रोल्पा, दाङ देउखुरी र सुर्खेत जिल्लामा बसोबास गरिरहेका छन् ।