© २०२३
बुटवल, १७ फागुन । बुटवलको आधुनिक समाज डेन्टल केयर प्रा.लिले स्वास्थ्य क्षेत्रमा नाम कमाएको संस्था हो । दुई दशक अघिदेखि दाँत, मुख, गिजा एवं समग्र मुख स्वास्थ्यसम्बन्धि गुणस्तरीय सेवासंगै सचेतना अभियानमा समाज डेन्टलको योगदान महत्वपूर्ण रहेको छ । गत आर्थिक वर्ष रोटरी क्लब अफ लुम्बिनी र रोट्याक्ट क्लब अफ लुम्बिनी स्टारसँगको सहकार्यमा लुम्बिनी प्रदेशका १ लाख विद्यार्थीहरूलाई निःशुल्क मुख स्वास्थ्य सचेतना र स्क्रिनिङ सेवा प्रदान गरेको समाज यो वर्ष पनि उस्तै क्रियाशिल रुपमा समुदायमा पुगेको छ ।
संस्थाबाट भएको प्रगति बारे जानकारी दिन शुक्रबार पत्रकार सम्मेलनमा गरि प्रालिका प्रवन्ध निर्देशक अमृत भुसालले विभिन्न संघ संस्थासँगको सहकार्यमा ५० भन्दा बढी सामुदायिक सचेतना तथा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरेको संस्था यो वर्ष पनि निरन्तर अभियानमा छ । चालु आर्थिक वर्षमा मुख स्वास्थ्य सचेतना कार्यक्रममार्फत् ७९ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालयका करिब २८ हजार विद्यार्थीलाई सेवा प्रदान गरेको उनले बताए । सोही अवधिमा २० वटा समुदायस्तरीय सचेतना तथा स्क्रिनिङ कार्यक्रम मार्फत करिब १ हजार ५ सय जनालाई सेवा प्रदान गरेको उनले बताए । मानिसको खराब जीवनशैली, असन्तुलित आहार र नियमित स्वास्थ्य जाँचको कमीका कारण मुखको क्यान्सर तथा अन्य दाँत र गिजासम्बन्धी रोगहरू बढिरहेको उनको दाबी छ । पछिल्लो समय पाठेघरको मुखको क्यान्सर पछि मुखको क्यान्सरको जोखिम बढ्दै गएको र यसबाट ज्यान गुमाउनेको संख्या पनि बढीरहेको अवस्थामा बिभिन्न विद्यालय र समुदायस्तरमा दाँत तथा मुख स्वास्थ्यप्रति जनचेतना अभिवृद्धिका कार्यक्रमहरु सञ्चालन गर्दै आएको जानकारी गराए । मुखको क्यान्सर भएका बिरामीमा ९० प्रतिशभन्दा बढी क्यान्सरका बिरामी सुर्ती तथा गुड्खाजन्य पदार्थ सेवनका कारण हुने गरेको प्रवन्ध निर्देशक भुसालले बताए । उनले सामान्य स्वास्थ्य सतर्कताले जटिल रोगबाट बच्न सकिने बताए । सरकारले मुख स्वास्थ्यलाई पाठ्यक्रममा समावेश गरी बिद्यालय तहबाटै बालबालिकालाई सचेत गराउन जरुरी रहेको उनले बताए ।
आधुनिक समाज डेन्टल केयरले नाफाको ५ प्रतिशत रकम बिभिन्न सामाजिक उत्तरदायित्वको काममा खर्च गर्दै आएको अध्यक्ष ज्योती सापकोटाले बताइन् । सर्वसुलभ र गुणस्तरीय उपचार सेवा प्रदान गरेर बिरामीको मन जित्नेमात्र नभई समाजमा मुख स्वास्थ्यबारे सचेतनामा आफुहरु सधै अगाडी रहेको उनले बताईन ।
दाँत, गिजा तथा मुखसम्बन्धि समस्या भएका बिरामीहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ ठाउँबाट सेवा सुरु भएको आधुनिक समाज डेन्टल केयरका योजना प्रमुख माधब सापकोटाले बताए । बुटवलको अस्पताल लाइनस्थित यसअघि राष्ट्रिय वाणिज्य बैंक भएको ठाउँबाट नयाँ व्यवस्थापनका साथ गुणस्तरीय सेवा सुरु भएको गरिएको उनले बताए ।