© २०२३
काठमाडौं, १६ फागुन ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी कानूनलाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मुलुकको हितमा नरहेको बताएका छन् । ‘भूमिसम्बन्धी अध्यादेश’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले देशलाई मरुभूमिकरण गर्ने कानून ल्याउने काम गरेको आरोप समेत लगाए ।
काठमाडौंमा भएको कार्यक्रममा बोल्दै उनले अध्यादेश पास भएमा सुकुम्बासीको नाममा भूमाफिया, बिचौलीयाहरू, रियल स्टेटहरूले सुकुम्बासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र बिक्री वितरण गर्ने धन्दा शुरु हुने जिकिर गरे । उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा वन संरक्षणको लागि सहायता माग्दै आएकोमा अध्यादेशले कानूनको रूप लिए त्यस्तो सहायता समेत रोकिने बताए । वन कटान गरेर सुकुम्बासी व्यवस्थापन गर्न नहुनेमा उनको जोड छ ।
‘सुकुम्बासीको नाममा भूमाफिया, बिचौलीयाहरू, रियल स्टेटहरूले सुकुम्बासीको नाममा राज्यको महत्वपूर्ण जग्गा हडप्ने र त्यसलाई बिक्री वितरण गर्ने अनि बसोबास गराउने यो धन्दा भएको मलाई लागेको छ । यसले देशको अर्थतन्त्र चौपट गर्ने, पर्यावरणलाई नष्ट पार्ने र यही ऐन बोकेर कोपमा जानुपर्ने हो । के भनेर जाने ? कस्ता फटाहाहरू हुन् भन्दैन ?’ उनले भने, ‘देशलाई मरुभूमिकरण गर्ने कानून ल्याउने काम गरियो । विचित्रको चरित्र छ । र यो अध्यादेश हिमालको हितमा पनि छैन, पहाडको हितमा पनि छैन र मधेसको हितमा पनि छैन । देशकै हितमा छैन ।’ उनले सरकारले बनाएको भूमि आयोग भूमिहीनको समस्या समाधान गर्नको लागि नभई भूमाफियाहरूमार्फत अनुचित लाभ लिन र देशलाई बर्बाद पार्ने उद्देश्यले बनाइएको आरोप समेत लगाए ।