बुटवल, १७ फागुन ।
बुटवलस्थित कालिका मानवज्ञान माविमा कक्षा ९ मा अध्ययनरत छात्रा १६ वर्षीया कृति पराजुली खेलकुद भनेपछि हुरुक्कै हुन्छिन् । एथ्लेटिक्स र फुटबललाई आफ्नो प्रिय खेल मान्ने कृति सितिमिति दोश्रो हुन्निन् र आफ्नो टिमलाई पनि भरसक दोश्रो हुन दिन्निन् । पढाइसँगै खेलकुदलाई पनि उत्तिकै महत्त्व दिएर निरन्तर अघि बढिरहेकी कृतिलाई खेलकुद क्षेत्रमा लाग्न पर्याप्त प्रोत्साहन भने नपाएको गुनासो गर्छिन् । छात्रातर्फ दोश्रो मेयर कप उपाधि हासिल गर्न सफल कालिका म.वि. टिमकी ९ नम्बर जर्सी खेलाडी कृति भन्छिन्—सबैले पढपढ मात्रै भन्छन्, खेल्ने वातावरण नै छैन ।
हालै बुटवलको चारपाला मैदानमा सम्पन्न दोश्रो मेयर कप छात्र÷छात्रा अन्तरविद्यालय फुटबल प्रतियोगितामा कालिका म.वि.को टिम प्रथम भएको थियो । आफ्नो टिमलाई जिताउन राम्रो प्रदर्शन गरेकी कृतिले विद्यालय तहमा खेलको वातावरण अझै नपुगेको बताउँछिन् । कृतिले ४ खेलमा ५ गोल गरेर आफूलाई हाई स्कोरको उपाधि विजेता समेत बनाएकी कृति भन्छिन्—उनीहरूको प्रशिक्षण, खानपान, आवतजावत लगायतका गतिबिधिहरू बाहिरबाट हेर्दा निकै लोभलाग्दो र सुविधाजनक देखिन्छ, तर भित्र कस्तो छ थाहा छैन, हाम्रो गतिबिधि भने उनीहरूको जस्तो आकर्षक देखिँदैन, प्रोत्साहित गर्ने खालको वातावरण हामीले महसुस गर्नै पाइंदैन, उनीहरूको अगाडि पहिले नै डोमिनेट फिल गर्नुपर्छ—उनी भन्छिन् । उनी अगाडि थप्छिन्—निजी विद्यालयका छात्राहरूले जस्तो प्रोत्साहन पाउने हो भने हामी थप उत्साहका साथ खेलेर उपलब्धि हासिल गर्न सक्छौं ।

यस्तै कान्ति म.वि.का कक्षा ९ की छात्रा प्रिया गौतम खेलकुदका लागि छात्राहरूको तुलनामा छात्राहरूलाई प्रोत्साहन नभएको बताउँछिन् । उनी भन्छिन्—हाम्रो समाजमा केटीहरूले सक्दैनन्, केटीहरू खेल्न हुँदैन, अवसर छैन, भोली बिहे पछि सबै छोड्नु पर्छ, कुनै काम लाग्दैन भन्दै हतोत्साहित गर्ने गरिन्छ । परिवार र आफन्तले पनि ध्यान दिएर पढ्नुपर्छ, डाक्टर इन्जिनियर बन्नुपर्छ, खेलकुदमा लागेर केही फाइदा छैन, बेकारमा पढाइ बिगार्ने मात्रै हो, खुरुखुरु राम्रोसित पढ अरू कुरामा ध्यान नदेउ भन्ने जस्ता कुराहरू सुनाउँछन् ।
उनी थप्छिन्—उता विद्यालयमा पर्याप्त खेलकुद मैदान, खेलकुदका सामग्री, खेलकुदका शिक्षक आदि को पनि अभाव छ । सरहरू पनि पढ—पढ मात्रै भन्नु हुन्छ । पढेर राम्रो नम्बर ल्याएमा मात्र भविष्यमा केही गर्न सकिन्छ भन्ने मान्यता छ हाम्रो समाजमा, तैपनि हामी आफ्नै प्रयासमा खेलकुद क्षेत्रमा पनि सक्रिय सहभागि हुन्छौं, सके जित्छौं नसके अनुभव र अनुभूतिहरू हासिल गर्छौं । खेलकुदलाई समाजको, देशको र मानव जीवनको अंगको रूपमा मान्ने सोचको अभाव छ । तैपनि विद्यालय, परिवार र समाजलाई सम्झाउने, बुझाउने गर्दै निरन्तर खेल्ने प्रयास भने गरिरहेका छौं ।
यसअघि राष्ट्रपति रनिङ्ग शिल्डमा ४ वटा गोल्ड मेडल प्राप्त गर्न सफल कृति सो फुटबल प्रतियोगितामा आफ्नो कालिका टिमबाट फरवार्ड प्लेयरका रूपमा र कान्ति टिमबाट मिड फिल्डरका रूपमा प्रिया खेलेका थिए । खेलकुद प्रति अगाध रुचि भएका कृति र प्रियाको अनुभव र अनुभूति लगभग उस्तै छ । उनीहरू दुबैजना समाज, परिवार र विद्यालयबाट पर्याप्त प्रोत्साहन र वातावरण मिल्ने हो भने खेलकुद क्षेत्रमा केही गरेर देखाउने आँट राख्छन् । दुबैजनाको एउटै स्वर छ—अवसर पाएर मात्रै भएन, खेलकुदका लागि आवश्यक पूर्वाधार र पूर्व अभ्यासका साथै पूर्व तयारीको लागि विद्यालयले उचित वातावरण पनि निर्माण गर्नुपर्दछ ।
त्यस्तै फुटबल खेल भनेपछि हुरुक्कै हुने अर्की खेलाडी हुन नमिता भुसाल । गार्गी एकेडमीमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया नमिता पनि पढाइसँगसँगै खेलकुदलाई पनि उत्तिकै महत्व दिनुपर्ने बताउँछिन् । मानसिक र शारीरिक रूपमा तन्दुरुस्त रहन खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले खेलकुद प्रति रुचि बढ्दै गएको बताउने नमिताले विद्यालय र परिवारबाट पर्याप्त सहयोग आवश्यक पर्ने बताउँछिन् । बुटवल ११ देविनगर घर भएकी खेलाडी नमिताले शिक्षक समिर अधिकारीको प्रेरणाले खेलक्षेत्रमा आएको बताइन ।
गार्गीमा ४ जना धावक समेत रहेको बताउँदै प्रशिक्षक समिरले धावकलाई नै फुटबल खेलाडी बनाउनु परेको बताउछन् । उनी भन्छन्—छात्राहरूको तुलनामा छात्राहरूले खेल छिटो सिक्ने र खेलप्रति रुचि राख्ने हुँदा उपलब्धि छिटो हुने बताए, तर छात्र खेलाडीहरूलाई भने खेल क्षेत्रमा टिकाउन गाह्रो भएको उनको भनाई छ । गार्गीका धावकहरूमा नमिता भुसाल सहित भूमिका मगराती, प्रवेशिका खनाल, अनुष्का पल्ली, दीपिका कार्की पनि छात्राहरूलाई जस्तो प्रोत्साहन प्रदान गर्नुपर्ने कुरामा जोड दिन्छन् ।
कालिका म.वि.की अर्की खेलाडी हुन् सिर्जना कठायत । टिम क्याप्टेन समेत रहेकी जर्सी नं १० का खेलाडी कठायत लगायतको पहलमा फुटबल टिम बनाउन सफल भएका थिए । शिक्षक शिक्षिकाले फाइनल परीक्षा नजिकै आएकोले खेलमा सहभागी हुनु पर्दैन, सहभागि नहुँदा पनि केही फरक पर्दैन तर पढाइ बिगार्न हुदैन भनेको कुरा अहिले पनि कानमा गुन्जिरहेको छ । उनी भन्छिन्—यसप्रकारको कठिन घडीमा पनि ज्यानको बाजी लगाएर फुटबल प्रतियोगितामा सहभागी भई आफ्नो विद्यालयलाई प्रथम बनाएका छौं ।
विद्यालयले उत्कृष्ट डिफेन्स उपाधि सहित ५० हजार राशीको पुरस्कार समेत जित्न सफल भएको थियो ।
छात्राहरूलाई फुटबल खेलमा सहभागी गराउन विद्यालय, स्थानीय, प्रदेश तथा केन्द्रीय सरकार, समाज तथा घर परिवारको पनि अहम भूमिका रहेको छ । खेलकुदलाई उजागर गरी खेलका माध्यमबाट राष्ट्रलाई चिनाउने मुल उद्देश्यले नगरपालिकाले खेलक्षेत्रमा धेरै लगानी गरेको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे दाबी गर्छन् ।




