नवलपरासी, १६ फागुन ।
लुम्बिनी प्रदेशकै दोस्रो ठूलो र नवलपरासी पश्चिमकै सर्वाधिक पुरस्कार राशी रहेको नवौं सस्करणको सुर्यनगर गोल्डकपको उपाधी बिरगंज युनाईटेड बिरगंजले हात पार्न सफल भएको छ ।बासबारी युवा क्लब काठमाडौलाई शुन्यका विरुद्ध एक गोलले पराजित गर्दै अन्ततः बिरगंज युनाईटेडले उपाधी उचालेको हो ।
निकै आक्रामक र प्रतिस्पर्धात्मक खेलमा दोस्रो हाफको अन्तिम समयमा बिरगंजले गोल गर्न सफल भएको हो ।दोस्रो हाफको ८३ औं मिनेटमा बिरगंज युनाईटेडका जर्सी नम्बर ७ का सागर चौधरीले रोमाञ्चक गोल गर्दै उपाधी जिताउन सफल भएका थिए ।
पुरस्कार बितरण एवं खेल समापन सामारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिश्वप्रेम पाठकले बर्दघाट नगरपालिका खेलकुदको उर्बर भुमी रहेको उल्लेख गर्दै दक्ष खेलाडी उत्पादनका लागि यो क्षेत्रमा फुटवल एकेडिमीको आवश्यकता रहेको बताए ।खेलकुदकै माध्यम बाट आफ्नो क्षेत्र र समग्र राष्ट्रलाई नै बिश्वब्यापी रुपमा चिनाउने सकिने उल्लेख गर्दै सांसद पाठकले तिनै तहका सरकार मिलेर स्थानिय रुपमै खेलकुदको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले सबै खेलकुदका बिद्यालाई समेटेर अघि बढेको उल्लेख गर्दै खेलकुदको बिकासबाट समृद्ध नगर निर्माणमा टेवा पुग्ने बताए ।पछिल्लो समय खेकुदका क्षेत्रलाई समेत प्राथमिकतामा राखी नगरले लगानी गर्दै आईरहेको उनले बताए ।
नवयुवा क्लब बर्दघाट १६ सुर्यनगरको आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा संचालित सुर्यनगर गोल्डकपमा प्रथम हुने समुहले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन भने द्वितीय हुने समुहले रु तीन लाख ३३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्ने छन ।बिभिन्न बिद्याका उत्कृष्ट खेलाडिहरुलाई समेत नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।