© २०२३
गोरखा, १६ फागुन ।
जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चुमनुब्री गाउँपालिका-३ स्थित सिर्दिबासको बगरमा पतेरा (किरा) टिप्नेहरूको भीड लागेको छ। आज बिहानदेखि गाउँमा एकाएक पतेरा देखा परेपछि टिप्नेहरूको ठूलो भीड लागेको स्थानीय कुमारी गुरुङले जानकारी दिइन्।
‘सिर्दिबास र फिलिम जोड्ने पुल मुनि पतेरा देखापरेपछि गाउँलेहरूले एकाएक टिप्न जान थाले। अहिले बगरमा पतेरा किनबेचसमेत हुन थालेको छ। बिहान प्रतिकिलो रु दुई हजारमा किनबेच भएका पतेरा दिउँसो प्रतिकिलो रु तीन हजारमा कारोबार भएको छ,’ उनले भनिन्।
उक्त पतेरा कसले, कहाँ र के प्रयोजनका लागि लैजान लागेको हो भन्ने बारेमा कुनै ठोस जानकारी गाउँलेहरूलाई छैन। उनका अनुसार, एक जनाले दुईदेखि तीन केजीसम्म पतेरा टिपेका छन्।
चुमनुब्री गाउँपालिका-३ का वडाअध्यक्ष रामकुमार गुरुङले पनि गाउँको बगरमा एकाएक पतेरा आएपछि गाउँलेहरू टिप्न गएको बताए। उनले भने, ‘यसरी मान्छेहरू गएका छन् भन्ने कुरा दिउँसो मात्र थाहा पाएँ, तर किन र कहाँ लैजाने भन्नेबारे पत्ता लगाउन सकेको छैन। टिप्न जानेहरूले तरकारी हुन्छ रे भनेर सुनाएका छन्।’
यस विषयमा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मा समेत जानकारी गराइएको छ। वडाअध्यक्ष गुरुङले भने, ‘यस क्षेत्रमा ठूलो संख्यामा पतेरा आएको यो पहिलो पटक हो। पहिले गाउँमा खुसार्नीका बोटमा एक–दुई वटा पतेरा लागेको थाहा थियो, अहिले बूढीगण्डकीको किनारभरि पतेरा छन्। कहाँबाट आयो थाहा भएन।’