Butwal Today

गौतम बुद्ध जन्म स्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय “बुद्ध ज्ञान साइकिल यात्रा” शुभारम्भ

१६ फाल्गुन २०८१, शुक्रबार
अ+
अ-

रूपन्देही, १६ फागुन ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँगै बुद्धसंग सम्बन्धित रुपन्देही, नवलपरासी र कपिलबस्तुमा रहेका पुरातात्विक बुद्ध स्थलहरूको पर्यटन प्रवर्धनका लागि आयोजित “बुद्ध ज्ञान साइकिल यात्रा” शुभारम्भ भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायतले भैरहवाको बुद्धचोक स्थित लुम्बिनी गेटबाट नेपालको झण्डा फहराएर साइकिल यात्राको शुभारम्भ गराएका थिए।

दुई दिने यात्रामा सबैभन्दा कम उमेरका बालक ८ वर्षे किस्टोफर श्रेष्ठ, बालिकामा ११ वर्षीया आस्वानी खरेल सहभागी छन्। त्यसैगरी जेष्ठ नागरिकमा भारत उत्तराखण्डका जोडी ७६ वर्षका कमल जित दिमन र ७१ वर्षीया बिस्हु दिमन सहभागी छन्। यात्रामा विश्व साइकिल यात्री पुस्कर शाह सहित नेपाल, भारत र जर्मनीका १ सय ३ साइकिल यात्री सहभागी छन्।

साइकिल सिटी भैरहवाको आयोजनामा हरेक वर्ष हुने “बुद्ध ज्ञान साइकिल यात्रा” लुम्बिनीमा पुगेर समापन हुने आयोजक संस्थाका अध्यक्ष सूर्य कुमार सारु मगरले बताए। “बुद्ध ज्ञान साइकिल यात्रा” सहभागीता जनाउन नेपाल, भारत लगायत विभिन्न स्थानहरूबाट १ सय ३ साइकिल यात्रीहरू बिहीबार भैरहवा आइपुगेका थिए। उनीहरूलाई भैरहवामा खादा लगाएर स्वागत गरिएको थियो।

लुम्बिनीको पर्यटन प्रवर्धन, स्वास्थ्य, पर्यावरण र व्यापार व्यवसाय वृद्धि गर्नका लागि गत वर्षदेखि साइकिल सिटी भैरहवाले “बुद्ध ज्ञान साइकिल यात्रा” गर्न लागेको कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले बताए।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनी बाहेकका अन्य बुद्धसँग जोडिएका स्थान सधैँ ओझेलमा परेको हुनाले ती क्षेत्रको प्रचार प्रसारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय १ सय ३ जना साइकिलिस्टलाई सहभागीता गराएर साइकिल यात्रा गराउन लागेको हो।


हरेक वर्ष हुने “बुद्ध ज्ञान साइकिल यात्रा”ले गौतम बुद्धसँग सम्बन्धित क्षेत्रहरूको अझ बढी प्रचार प्रसार हुने र जसको कारण भगवान गौतम बुद्ध बारे थप जानकारी, ज्ञान प्राप्त र लुम्बिनी बाहेक बुद्धसँग जोडिएका स्थानहरूको प्रचार प्रसारमा पनि सहयोग पुग्ने साइकिल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठले बताए।

सहभागी साइकिलिस्टहरूले पहिलो दिन करिब ८५ किलोमिटर र दोस्रो दिन ९० किलोमिटर दुरी तय गरेर बुद्धसँग सम्बन्धित विभिन्न स्थानको अवलोकन भ्रमण र जानकारी प्राप्त गर्ने छन्।

शुक्रबार भैरहवा बाट सुरु हुने साइकिल यात्राको पहिलो दिन नवलपरासीको रामग्राम, हुँदै पुन: रुपन्देहीको देबदहको पण्डितपुर, बुद्ध मावली भवानीपुर, बौद्धकालीन पाकरी रुख हुँदै तिलोतमा नगरपालिकाको बनबाटिका, बुटवलको जितगडी किल्ला हुँदै साँझ भैरहवा आइपुग्नेछ।

त्यसैगरी दोस्रो दिन भैरहवाको बसडिलवा स्थित शिव मन्दीरबाट सुरु भई शुद्धोदन गाउँपालिकामा रहेको बुद्धकालिन भुवनेश्वर मन्दीर, गैडहवा गाउँपालिकाको गैडहवा ताल, यशोधरा पार्क हुँदै कपिलबस्तुको मानव निर्मित जगदिसपुर ताल, सग्रहवा, राजा शुद्धोदनको प्राचिन दरवार तिलौराकोट, कुछन्द बुद्धले ज्ञान प्राप्त गरेको स्थान गोटिहवा, कनकमुनि बुद्धको जन्मस्थल निग्लिहवा, भगवान बुद्ध र उनका छोरा पहिलो पटक भेट भएको स्थान कुदान हुँदै भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आएर समापन गरिने कार्यक्रम संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?