© २०२३
सालझण्डीदेखि बाग्लुङको ढोरपाटन जोड्ने सडक निर्माणमा भैरहेको ढिलाई नेपालका विकास आयोजनाको दुरावस्थाको पछिल्लो उदाहरण हो । त्यसो त निर्माण आयोजना समयमै सम्पन्न नहुनु नेपालको तीतो यथार्थ हो । बुटवल नारायणगढ सडक खण्डले पनि यही चरितार्थ गरेको छ । सुरु भएका धेरै आयोजना एक बर्षमात्रै होइन बर्र्षौसम्म अलपत्र हुने गरेका छन् । बिडम्वना सडक निर्माण सुरु भएको डेढ दशक हुँदापनि पूरा नहुनु हेलचेक्राईको चरम नमूना हो । अधिकांश निर्माण कम्पनीले पूर्वाधार निर्माणका क्षेत्रमा बर्षौंदेखि हेलचेक्राई गर्दै आएको यो पछिल्लो उदाहरण मात्र हो । निर्माणको काम अलपत्र पार्ने, बीचमै छोड्ने र त्यसका कारण जनताले सास्ती पाएको घटना धेरैछन् । जनताले समयमै निर्माण सम्पन्न गर्न दवाव दिएपनि जनताको आवाज सुनुवाई हुँदैन । २०६६ सालमा रूपन्देहीको सालझण्डीबाट बागलुङको ढोरपाटनसम्म जोड्ने उद्देश्यले अघि बढाइएको यो योजना अहिले अलपत्र जस्तै छ । सडक निर्माण सुरु भएको १५ वर्षको बीचमा १८ किलोमिटर मात्रै कालोपत्रे हुनु ढिलाईको चरम नमूना हो । एकसय ९७ किलोमिटर लम्बाइको सडकमध्ये हालसम्म १८ किलोमिटर पिच भएको छ । यो सडकको १५ किलोमिटर मध्यपहाडी लोकमार्गमा पर्छ भने बाँकी एक सय ८२ किलोमिटर सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक परियोजनाले निर्माण गर्नुपर्ने बताइएको छ ।
यो सडकका कारण जनताले पाएको सास्ती भनिसाध्य छैन । निर्माण सुरु हुँदा खुसी भएका स्थानीय आयोजना क्षेत्रका जनता अहिले निरास हुनुपर्ने अवस्था छ । २०६६ सालदेखि सुरु भएको सडक निर्माणको काममा पर्याप्त बजेट विनियोजन नहुनु, ठेकेदारको अटेरीपन, बिचमा स्थानीयसँग विवाद लगायतका कारण सुस्त गतिमा अघि बढेको निर्विबाद छ । त्यसो त सवै कुराको भागिदार निर्माण व्यवसायीलाई मात्रै थोपरेर हुँदैन । स्थानीयले जग्गा विवादका तेर्साउँदा केही बर्ष सडक निर्माणको काममा अवरोध भएको थियो । तसर्थ निर्माण व्यवसायीलाई सहजरूपमा निर्माणको बाटो खोलीदिने काममा सरकार, स्थानीय पालिका तथा सम्बद्ध सरोकारवाला निकायको ध्यान जानैपर्दछ । अर्कोतर्फ सरकारले समयमै रकम निकासा नदिएकै कारण पनि आयोजना छिटो सम्पन्न गर्ने कुरामा ढिलाई भएको हो । सालझण्डी ढोरपाटन सडक निर्माणको काम सुरु भएको १६ बर्ष पूरा भैसकेको छ । सडक शिलान्यास हुँदा समयभित्रै उक्त सडक बन्छ भनेर मन्त्री र साँसदले भाषण गरेको त्यस क्षेत्रका जनताले अझै विर्सिएका छैनन् । तर, समयमै सडक निर्माणको कुरा त परै जाओस अहिले निर्माणको काम रोकिएको अवस्थामा छ । समयमै सडक नबन्दा त्यस क्षेत्रका हजारौं जनतालाई समस्या परेको छ । अर्कोतर्फ उक्त बाटो भएर यात्रा गर्ने विरामी र गर्भवती महिलालाई उपचारका लागि लैजान समस्या भैरहेको छ । यो लापरवाहीप्रति सम्वन्धित निकाय मौनताले प्रश्न जन्मिएको छ । १ सय ८५ किलोमिटर लामो सडक बनाउन १६ बर्ष बढी समय लाग्नु र त्यो पनि अहिलेसम्म निर्माण सकिने मितिसम्म टुंगो नलाग्नु चिन्ताको बिषय हो । सरकारले निर्माणको काममा ढिलाई गर्ने कुरा सैह्य हुँदैन भनेको छ तर यस प्रकारका ढिलासुस्ती मुलुकभरी छन् । कसले हो कारवाही गर्ने ? चिन्ताको बिषय छ । निर्माणको सवै जिम्मा एउटा कम्पनीले लिने र निर्माणको काम लटलट गरि अरू निर्माण ब्यवसायीलाई दिँदापनि निर्माण आयोजनाको प्रगतिमा समस्या देखिएको छ । नेपालले अव अहिलेसम्मका आयोजनाको ढिलाईबाट शिक्षा लिनु जरुरी छ । सडक निर्माणमा धेरै ढिलाई हुनुमा सरकारको लापरवाही देखिएको छ । सरकारले चासो दिएर निर्माणको काममा तदारुकता देखाएको भए यो अवस्था आउने थिएन । यही रवैया र ढिलासुस्तीले नेपालको विकास कहिले होला ? सालझण्डी ढोरपाटन सडकमात्र होइन, नेपालका धेरै विकास आयोजनाले यही नियती भोगिरहेका छन् । सरकारले बुटवल नारायणगढ सडक निर्माणका लागि जसरी ताकेता गरेको छ, सालझण्डी ढोरपाटन सडकमा पनि चासो दिएर कामलाई द्रुततर बनाउनेतर्फ पहल गरोस् ।