© २०२३
काठमाण्डौ ।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ।
अधिगमनको जाँच पास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरूलाई शंका लागेर जाँच गर्दा सुन बरामद भएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो।
उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएका थिए। शंका लागेको गतिविधि देखिएपछि प्रहरीले एक्स–रे मा जाँच गर्दा शंका पुष्टि भयो र अस्पतालमा लगेर भिडियो एक्स–रे गरेर हेर्दा सुन देखिएको हो।
पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष छन्। गएरातिको उडानमार्फत दुबईबाट काठमाण्डौ आएका उनीहरू सबै उज्बेकिस्तानका नागरिक हुन्। उनीहरूलाई तस्करी समूहले भरियाका रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।