Butwal Today

महाकुम्भ मेला सम्पन्न,६६ करोडभन्दा बढी मानिसले गङ्गामा स्नान गरे

१५ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

भारतको उत्तर प्रदेशको प्रयागराजमा ४५ दिनसम्म चलेको महाकुम्भ मेला सफलतापूर्वक समापन भएको छ। गत पुस २९ मा आरम्भ भएको यो ऐतिहासिक मेला हिजो महाशिवरात्रिको दिन समाप्त भएको हो, तर श्रद्धालुहरूको भीड अझै रोकिएको छैन।

महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी मानिसले गङ्गामा स्नान गरेका छन्, जसले यसलाई विश्वका सबैभन्दा ठूलो धार्मिक मेलामा परिणत गरेको छ। यो संख्या अमेरिकाको जनसङ्ख्याको लगभग दुईगुणा हो र एक सय ९३ वटा देशको जनसङ्ख्याभन्दा धेरै छ। महाकुम्भ मेलाको अन्तिम दिन मात्र डेढ करोड श्रद्धालुहरूले स्नान गरेका थिए।

यस वर्षको महाकुम्भ मेला उत्तर प्रदेश सरकारले ४० करोड श्रद्धालुहरूको सहभागिता अनुमान गरेको थियो। कुम्भ मेला भारतका चार शहरहरू—प्रयागराज, हरिद्वार, उज्जैन र नासिक—मा हरेक १२ वर्षमा आयोजना हुन्छ, तर प्रयागराजमा हुने मेला विशेष महत्व राख्छ र यसलाई ‘महाकुम्भ’ भनिन्छ।

संयुक्त राष्ट्रसंघले कुम्भ मेलालाई मानव जातिको ‘अमूर्त सम्पदा’का रूपमा स्वीकार गरेको छ। यस ऐतिहासिक मेलामा सहभागिता जनाउनु मात्र धार्मिक कृत्य होइन, बरु लाखौँ मानिसहरूको एकता र विश्वासको प्रतीक पनि हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महाकुम्भ मेला सफल बनाउन चुनौतीपूर्ण कार्य भएको स्वीकार गर्दै, कुनै पनि कमीकमजोरी भएमा माफी मागेका छन्।