Butwal Today

भूकम्पपछिको पुनर्निर्माणका लागि तीन जिल्लामा आयोजना कार्यान्वयन ईकाइ खुल्दै

१५ फाल्गुन २०८१, बिहीबार
अ+
अ-

काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकलन, पुनर्निर्माण र पुनःस्थापनालाई तिव्रता दिइएको बताएका छन्।गृहमन्त्री रमेश लेखकको अध्यक्षमा बिहीबार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औं बैठकले जाजरकोट, डोटी र बझाङ्गमा भूकम्पपछिको क्षतिको आकलन, पुनर्निर्माण र पुनःस्थापनालाई सरकारले तिव्र रुपमा अघि बढाएको जानकारी दिए।

बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै गृहमन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माण एवं पुनःस्थापनाका लागि जाजरकोट, डोटी र बझाङ्गमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको जानकारी दिए।

गृहमन्त्री लेखक आगामी फागुन २३ गते बझाङ्ग, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने गृह मन्त्रालयले जनाएको छ। जाजरकोटमा गत २०८० कार्तिक, बझाङ्गमा २०८० असोज र डोटीमा २०७९ कार्तिकमा केन्द्रबिन्दु भएर भूकम्प भएको थियो।

“हामीले बितेको ६ महिनामा विस्तृत क्षति आकलन र निजि घरहरूको पुनर्निर्माण एवं पुनःस्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ,” गृहमन्त्री लेखकले भने, “अब जाजरकोट, बझाङ्ग र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजि घरहरूमा भएको क्षति आकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनःस्थापनको काम अगाडि बढाउँछौं।”

गत वर्ष जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पपछिको पुनःनिर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याइएको छ। “पहिलो भूकम्प भएको दुई र पछिल्लो भूकम्प भएको एक वर्ष बितिसक्दा पनि क्षति आकलन गर्ने र पुनर्निर्माण एवं पुनःस्थापना अगाडि बढ्ने सकेको स्थिति थिएन,” उनले भने।