Butwal Today

स्नातकका विद्यार्थीलाई बिरालो प्रजाति चिनाउन तालिम

१४ फाल्गुन २०८१, बुधबार
अ+
अ-

परासी, १३ फागुन ।
बिरालो प्रजातिका वन्यजन्तुको अध्ययन, अनुसन्धान र संरक्षणबारे ज्ञान दिन प्राकृतिक विज्ञानका उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई सशक्तीकरण तालिम दिइएको छ।

वाईल्ड केयरद्वारा नवलपुरको त्रिवेनीमा आयोजित ३ दिने तालिममा बिरालो प्रजातिका वन्यजन्तुको पहिचान, अध्ययन अनुसन्धान गर्ने विधि, प्रक्रियाबारे जानकारी दिइएको थियो। बिरालो प्रजातिका वन्यजन्तुको महत्त्व, समुदायले हेर्ने दृष्टिकोण र यी वन्यजन्तुका संरक्षण र चुनौतीबारे विस्तृत जानकारी दिइएको थियो। अनुसन्धान गर्ने विधि रेडियो कलर जडान र क्यामरा ट्रापिङबारे सैद्धान्तिक ज्ञान दिइएको थियो। सहभागीलाई बाल्मिकी आश्रम वन क्षेत्रमा क्यामरा ट्रापिङ कसरी र कुन अवस्थामा गर्ने भनेर व्यवहारिक ज्ञान दिइएको थियो।

तालिममा वन विज्ञान, प्राणीशास्त्र र वातावरण शास्त्रमा स्नातक अध्ययनरत मुगुदेखि संखुवासभा १४ जिल्लाका १४ जना र स्थानीय सिटिजन साईन्टिस्ट ४ गरि १८ जना सहभागी थिए।
नेपालमा बिरालो प्रजातिका १३ वटा वन्यजन्तु पाइन्छ। त्यसमा पाटेबाघ, हिउचितुवा र चितुवा ठूला बिरालो प्रजातिमा पर्छन्। ध्वासे चितुवा, फ्याकु बिरालो, ताशि बिरालो, सुनौलो बिरालो र मलाहा बिरालो सानो बिरालो प्रजातिमा पर्छन्। त्यस्तै वन बिरालो, चरीबाघ, एशियाली जंगली बिरालो, छिरबिरे बिरालो र खियाथोप्ले बिरालो पनि साना बिरालो प्रजातिमा पर्छन्। यी वन्यजन्तुले पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न निक्कै महत्त्वपूर्ण भूमिका खेल्न भएकाले संरक्षणका अभियान स्वरूप युवा विद्यार्थीलाई परिचालन गर्न तालिम गरिएको हो।

सहभागीलाई बाघ विषेशज्ञ डा. बाबुराम लामिछाने, मलाहा बिरालो विषेशज्ञ रमा मिश्र, हिउचितुवा विषेशज्ञ तथा विश्व चर्चित रोलेक्स अवार्ड विजेता रिन्जिन फुन्जोक लामा र बन्यजन्तु फोटोपत्रकार मनोज पौडेलले ज्ञान दिएका थिए।

तालिम लिएकाले विद्यालय र समुदायमा गएर सोलस सर्भे गरी दुई सातासम्म सचेतना जगाई संरक्षणमैत्री पछि प्रमाणपत्र दिइने संस्थाका सबिन अधिकारीले बताए। तालिम निक्कै प्रभावकारी हुँदा गाउँमा गएर संरक्षणका काम गर्न उत्साहित भएको मध्य पश्चिम विश्वविद्यालय, सुर्खेतमा बिएस्सी तेस्रो वर्षमा अध्ययनरत ऐनबहादुर बुढाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?